काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रमा निर्माण गरिएको सवारी पार्किङ क्षेत्र फागुन १० गतेदेखि सञ्चालनमा ल्याएको छ।
२०८२ फागुन ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले पार्किङ व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी महानगरपालिकालाई दिने निर्णय गरेपछि सोहीअनुसार पार्किङ सञ्चालनमा ल्याइएको हो। पार्किङ क्षेत्रको व्यवस्थापन काठमाडौँ महानगर प्रहरी बलले सम्हालेको छ।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार प्रारम्भिक चरणमा पार्किङ क्षेत्र पूर्ण रूपमा व्यवस्थित नभए पनि आवश्यक पूर्वाधार सुधार गरेर अहिले सञ्चालनमा ल्याइएको हो।
पार्किङ क्षेत्रका तीन तलामा प्रत्येकमा १० वटा दरले ३० वटा अग्नि सुरक्षा उपकरण जडान गरिएको छ। यसअघि ९ वटा उपकरण जडान भइसकेका थिए। सवारी सुरक्षाका लागि सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ र थप जडान गर्ने तयारी भइरहेको छ।
धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ।
-
बी–१ मा १२७ वटा चारपाङ्ग्रे सवारी साधन
-
बी–२ मा करिब ७ सय मोटरसाइकल
-
बी–३ मा १३५ वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने व्यवस्था छ।
बी–३ मा एयर सर्कुलेसनको केही समस्या देखिएको बताइएको छ। अत्यधिक चाप भएका बेला मात्र उक्त स्थान प्रयोग गर्ने व्यवस्था गरिएको छ। पार्किङ क्षेत्रमा अपाङ्गमैत्री सुविधा पनि उपलब्ध गराइएको छ।
महानगरपालिकाले विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रलाई लक्षित गर्दै पार्किङ सञ्चालनमा ल्याएको हो। यी क्षेत्रमा फुटपाथ र सार्वजनिक सडकमा सवारी पार्किङ गर्न अब पूर्ण रूपमा रोक लगाइएको छ।
महानगरपालिकाका अनुसार वडा नम्बर १ देखि ३२ सम्म सार्वजनिक सडक तथा पेटीमा पार्किङ निषेध गरिएको छ। नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी कारबाही गरिने जनाएको छ।
हाल धरहरा पार्किङ सेवा निःशुल्क रूपमा सञ्चालन भइरहेको छ। नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिनेछन् भने पार्किङ क्षेत्र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ। त्यसपछि सवारी बाहिर निकाल्न मात्र अनुमति दिइनेछ।
प्रमुख जोशीका अनुसार केही प्रयोगकर्ताले बिहान पार्किङ गरेर बेलुका मात्र सवारी निकाल्ने प्रवृत्ति देखिएकाले व्यवस्थापनमा चुनौती आएको छ। आगामी दिनमा व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने उनले बताए।
सवारीसाधनको सुरक्षाको जिम्मेवारी भने सवारीधनी स्वयंले लिनुपर्ने र अरूलाई असहज नहुने गरी पार्किङ गर्नुपर्नेमा उनले जोड दिएका छन्।













प्रतिक्रिया