बजारमा ग्यास अभावबीच श्रीराम ग्यासको डिपोमा ६ हजारभन्दा बढी सिलिन्डर स्टक, ३ लाख जरिवाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ चैत्र २०८२, मंगलवार ०६:४५

 काठमाडौँ ।  बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला श्रीराम ग्यास उद्योगको हरिसिद्धिस्थित डिपोमा ठूलो परिमाणमा ग्यास सिलिन्डर स्टक गरेर राखिएको फेला परेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा पुगेको बजार अनुगमन टोलीले उद्योगको डिपोमा १४.२ केजीका ६ हजार ३७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको भेटाएको हो। अनुगमनका क्रममा ती सिलिन्डर बजारमा पठाउन आनाकानी गरिएको पनि विभागले जनाएको छ।

उपभोक्तालाई मर्का पर्ने गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको ठहर गर्दै उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५को दफा १६ अनुसार ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको छ।

विभागले जरिवानासँगै डिपोमा मौज्दात रहेका सबै ६ हजार ३७७ वटा सिलिन्डर नेपाल आयल निगमको समन्वयमा आजकै मितिबाट उपभोक्तालाई बिक्री वितरण गर्न निर्देशन दिएको छ।

सहज रूपमा ग्यास आपूर्ति हुनुपर्ने अवस्थामा डिपोमा सिलिन्डर जम्मा गरेर कृत्रिम अभाव सिर्जना गरिएको विभागका महानिर्देशक रोशन ज्ञवालीले बताएका छन्।

विभागका अनुसार बजारमा ग्यास नपाएर सर्वसाधारण घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहँदा ठूलो परिमाणमा ग्यास होल्ड गरेर राख्नु गैरकानुनी हो।

उता श्रीराम ग्यास उद्योगका बिक्रेताले भने उद्योगबाट ग्यास नआएकाले उपभोक्तालाई सहज रूपमा बिक्री गर्न नसकेको बताएका छन्।

विभागले बजारमा ग्यास अभाव भइरहेका बेला अन्य ग्यास उद्योगमाथि पनि निगरानी बढाइएको र कालोबजारी वा होल्डिङ गरेको पाइए कडा कानुनी कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply