काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ चैत्र २०८२, सोमबार ०६:२९

काठमाडौँ । नेपाल आयल निगमले आज (मार्च १५, २०२६) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको तथा विशेषगरी पश्चिम एसियामा बढ्दो तनावलाई कारण देखाउँदै निगमले मूल्य समायोजन गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनमा परेको दबाबका कारण निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको जनाएको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते रातिदेखि लागू हुने गरी समायोजन गरिएको हो।

मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि भएको छ भने डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ।

निगमका अनुसार मध्यपूर्व तथा पश्चिम एसियामा देखिएको तनाव र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा आपूर्ति व्यवस्थापनमा दबाब परेको छ। पेट्रोलियम स्रोत नभएका मुलुकहरूका लागि मूल्य समायोजन र आपूर्ति व्यवस्थापन दुबै चुनौतीपूर्ण हुने निगमको भनाइ छ।

नेपालले पेट्रोलियम पदार्थ मुख्य रूपमा भारतबाट आयात गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा भारतीय कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply