काठमाडौँ । सर्वोच्च अदालत ले नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन नेकपाका कार्यकर्ता कुमार पौडेल को हत्या प्रकरणमा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहितलाई विपक्षी बनाई परेको जाहेरी दर्ता गरी अनुसन्धान गर्न सर्वोच्चले बिहीबार (फागुन २८) परमादेश जारी गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला सरकारी वकिल कार्यालय सर्लाही लाई पनि अनुसन्धान अगाडि बढाउन आदेश दिइएको छ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेल को संयुक्त इजलासले उक्त आदेश जारी गरेपछि करिब ६ वर्ष पुरानो घटनाको अनुसन्धान अघि बढ्ने भएको हो।
२०७६ असार ५ गते लालबन्दी नगरपालिका वडा नम्बर १ र १० को सिमानामा प्रहरीले ‘इन्काउन्टर’ मा पौडेलको मृत्यु भएको जनाएको थियो। त्यसबेला विप्लव नेतृत्वको नेकपा सरकारविरुद्ध संघर्ष गर्दै भूमिगत अवस्थामा रहेको थियो।
घटनापछि पौडेलकी आमा दुर्गादेवीले प्रहरीमा जाहेरी दिन खोजे पनि दर्ता भएको थिएन। परिवारले तत्कालीन गृहमन्त्री र प्रहरी प्रमुखसमेतलाई विपक्षी बनाई अनुसन्धानको माग गरेका थिए।
राष्ट्रिय मानव अधिकार आयोग ले पनि उक्त घटनालाई रहस्यमय भन्दै थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो। आयोगले पौडेल दोहोरो भिडन्तमा मारिएको दाबी गलत रहेको बताएको थियो।
तत्कालीन गृहमन्त्री रामबहादुर थापा हाल नेकपा एमाले का उपाध्यक्ष छन्। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले बुझाएको समानुपातिक बन्दसूचीमा उनी जनजाति क्लस्टरको पहिलो नम्बरमा छन्।
त्यस्तै तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल राजनीतिमा प्रवेश गरी विभिन्न निर्वाचन लडेका थिए। पछि उनले आफ्नै पार्टी स्थापना गरेका थिए र हाल समुन्नत पार्टी का अध्यक्ष रहेका छन्।
उनले पछिल्लो निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका थिए र ४६४ मत प्राप्त गरेका थिए।









प्रतिक्रिया