ग्यास र इन्धनमा कालोबजारी गरे कारबाही हुने महानगरको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ चैत्र २०८२, आईतवार ०६:२९

काठमाडौँ । काठमाडौँ महानगरपालिका ले खाना पकाउने ग्यास तथा सवारीसाधनमा प्रयोग हुने इन्धनमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

ग्यास मौज्दात हुँदाहुँदै ‘ग्यास छैन’ भन्दै ग्राहकलाई नदिने, ग्यास अभावको हल्ला फैलाएर बढी मूल्य लिने तथा इन्धन डिपोमा पर्याप्त मौज्दात हुँदाहुँदै उपभोक्तालाई फर्काउने गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको जनाएको छ।

महानगरपालिकाको प्रशासन विभागका प्रमुख महेश काफ्ले ले गलत सूचना फैलाएर ग्यासको मूल्य बढाउने वा सर्वसाधारणको जनजीवन असहज बनाउनेलाई कारबाही गरिने बताए।

उनले नेपाल आयल निगम लिमिटेड ले आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ तोकेको उल्लेख गर्दै सोही मूल्यमा खरिदबिक्री गर्न व्यवसायी र उपभोक्तालाई आग्रह गरेका छन्।

उनका अनुसार ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले आवश्यकभन्दा बढी भण्डारण गर्दा पनि बजारमा अभाव देखिने गरेको छ। उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न र जिम्मेवार भएर माग गर्नुपर्ने उनले बताए।

यसैबीच केही पेट्रोल पम्पले आफूसँग इन्धन मौज्दात हुँदाहुँदै ‘तेल छैन’ भन्दै सवारीसाधनलाई उपलब्ध नगराएको सूचना प्राप्त भएकाले त्यसतर्फ महानगरले निगरानी बढाएको जनाएको छ।

महानगरले ग्यास वा इन्धनको कृत्रिम अभाव सिर्जना गरिएको देखिएमा प्रमाणसहित महानगरपालिकाको हटलाइन नम्बर ११८० मा जानकारी गराउन आग्रह गरेको छ। प्राप्त विवरणका आधारमा महानगरले अनुगमन र कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

उता ग्यास बिक्रेता महासङ्घ नेपाल का अध्यक्ष ज्ञानेश्वर अर्याल ले भने भारत बाट आउने ग्यास आपूर्ति हालसम्म नियमित रहेको जानकारी दिएका छन्। उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चिति नगर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply