ग्यास अभाव व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०८२, शुक्रबार ०७:२०

काठमाडौं । नेपाल आयल निगम लिमिटेड ले खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ।

निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै आजदेखि अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गरिने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि मिति २०८२ फागुन २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरिएको छ।”

निगमका अनुसार नियमित रूपमा मागअनुसार ग्यास आयात तथा वितरण भइरहे पनि पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको छ।

यसबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परेको पनि निगमले जनाएको छ। नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने भारत मा समेत सर्वसाधारण उपभोक्ताले ग्यास पाउन समस्या देखिएको समाचार सार्वजनिक भएपछि नेपालमा आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमको भनाइ छ।

निगमका प्रवक्ता मनोज ठाकुर ले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply