भदौ २३–२४ घटनाबारे आयोगको प्रतिवेदन : ओलीसहित तीन जनामाथि ज्यान मुद्दा चलाउन सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०८२, बुधबार ०७:०९

काठमाडौं ।  भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोग ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित तीन जनामाथि ज्यान सम्बन्धी मुद्दा चलाउन सिफारिस गरेको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की को नेतृत्वमा गठित उक्त आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ विरुद्ध पनि सोही प्रकृतिको मुद्दा चलाउन सिफारिस गरेको हो।

सरकारले आयोग गठन गर्दा अनुसन्धानपछि आवश्यक कारबाहीको सिफारिस गर्न सक्ने अधिकार दिएको थियो। सोही अधिकार प्रयोग गर्दै आयोगले कानुनको दफा नै उल्लेख गरी कारबाही सिफारिस गरेको जनाएको छ।

आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अन्तर्गत मुद्दा चलाउन सिफारिस गरेको हो। उक्त दफामा ‘लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुने’ उल्लेख गरिएको छ।

कानुनअनुसार कसैले लापरवाहीपूर्ण कार्यका कारण कसैको ज्यान गएमा दोषीलाई तीनदेखि दश वर्षसम्म कैद तथा ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

यस दफाले भने सोही ऐनका दफा १७७, १७८ र १७९ मा उल्लेख भएका अवस्थाबाहेकको स्थितिलाई जनाउँछ।

  • दफा १७७ मा ज्यान मार्ने स्पष्ट नियतसहित हत्या गरेमा जन्मकैद सजाय हुने व्यवस्था छ।

  • दफा १७८ मा ज्यान जान सक्छ भन्ने थाहा हुँदाहुँदै काम गर्दा कसैको मृत्यु भएमा कडा सजायको व्यवस्था गरिएको छ।

  • दफा १७९ मा गम्भीर उत्तेजना वा रिसको आवेशमा ज्यान लिएको अवस्थामा १० देखि १५ वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

आयोगका अनुसार ओलीसहित सिफारिस गरिएका व्यक्तिहरूको हकमा यी तीन दफा आकर्षित नहुने भएकाले लापरवाहीपूर्ण कामबाट ज्यान गएको सम्बन्धी दफा १८१ अन्तर्गत कारबाही सिफारिस गरिएको हो।

प्रतिक्रिया

Leave a Reply