रुकुम पश्चिममा सानोभेरी नदीमा डुबेर दुई किशोरीको मृत्यु, एक अझै बेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०८२, बुधबार ०७:०१

रुपन्देही ।  रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता रहेकी छन्।

बाँफिकोट गाउँपालिका–३ भाग्ने नजिक सानोभेरी नदी मा उनीहरूको शव भेटिएको वडा अध्यक्ष तिलवीर केसी ले जानकारी दिएका छन्।

सोमबार स्थानीय नीराजन वलीका छोरीहरू १५ वर्षीया उर्मिला वली र १२ वर्षीया कल्पना वली तथा पूर्णबहादुर वलीकी १३ वर्षीया छोरी सपना वली विद्यालयबाट फर्किएपछि आफन्तको बिहेमा गएका थिए। मङ्गलबार बिहान स्थानीयले घाँस काट्ने क्रममा भेरी नदीमा शव देखेपछि घटनाबारे जानकारी भएको केसीले बताए।

उनका अनुसार तीन जनामध्ये उर्मिला र कल्पनाको शव करिब दुई सय मिटरको दूरीमा भेटिएको छ भने सपना वली अझै बेपत्ता रहेकी छन्।

घटनाबारे जानकारी दिँदै वेदबहादुर पौडेल, नेपाल प्रहरी रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक, ले प्रारम्भिक अनुसन्धान अनुसार बिहेबाट फर्किने क्रममा पुल प्रयोग नगरी खोलाबाट हिँड्दा उनीहरू बगेको हुनसक्ने आशंका गरिएको बताए।

उनका अनुसार उर्मिलाको शव पहिले भेटिएको र करिब एक–डेढ मिटर तल कल्पनाको शव फेला परेको हो। सम्भवतः खोलाको अफ्ठ्यारो ठाउँबाट हात समातेर नदी तर्ने क्रममा एक जना बगेपछि अर्कोलाई तान्दा तीनै जना डुबेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तीनै जना सोमबार बेलुका घरपारिको गाउँमा रहेको आफन्तको बिहे हेर्न गएका थिए। बिहेपछि घर फर्किने क्रममा उनीहरूले पुल प्रयोग नगरी गाडी वारपार गर्न बनाइएको नदीको बाटो रोजेका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।

बिहे हेर्न गएका किशोरीहरू मङ्गलबार बिहानसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दा नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले बेपत्ता रहेकी अर्को किशोरीको खोजी कार्य जारी राखेको र बुधबार पुनः खोजी अभियान सञ्चालन गरिने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply