प्रधानन्यायाधीश नियुक्तिका लागि ६ न्यायाधीशको नाम सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ फाल्गुन २०८२, बुधबार ०६:५३

काठमाडौं।  भावी प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद् ले सर्वोच्च अदालत का ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद् मा सिफारिसका लागि पठाएको छ। परिषद्ले योग्यता पुगेका न्यायाधीशहरूको सूची तयार गरी संवैधानिक परिषद् सचिवालयमा पठाएको स्रोतले जनाएको छ।

सिफारिस सूचीमा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल सहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदीतिलप्रसाद श्रेष्ठ रहेका छन्।

हालका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी चैत १८ गतेबाट अवकाशमा जाँदैछन्। त्यसपछि खाली हुने प्रधानन्यायाधीश पदका लागि परिषद्ले सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीशका रूपमा कार्य गरेको योग्यता पुगेका व्यक्तिहरूको नाम सिफारिस गरेको हो।

नेपालको संविधानको धारा १२९ अनुसार प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति सम्बन्धी व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा (३) अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश नियुक्त हुन योग्य हुने प्रावधान रहेको छ।

न्याय परिषद्ले रोस्टर पठाएपछि प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्ले बैठक बसेर एक जनाको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गर्नेछ। त्यसपछि उक्त नाम संसदीय सुनुवाइका लागि संघीय संसद्मा पठाइने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीशमा नियुक्ति हुनेछ।

तर संविधानले तोकेको समयसीमाभित्र सिफारिस प्रक्रिया अघि बढ्न नसकेको देखिएको छ। संविधानको धारा २८४ को उपधारा (३) अनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ।

उक्त प्रक्रिया ढिलाइ भएमा सर्वोच्च अदालत फेरि एक पटक कायममुकायम नेतृत्वको भरमा सञ्चालन हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरिएको छ। यसअघि पनि सर्वोच्च अदालत लामो समय कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा सञ्चालन भएको थियो।

यसअघि दामोदर शर्मा, दीपककुमार कार्कीहरिकृष्ण कार्की ले लामो समय कायममुकायम रूपमा न्यायालयको नेतृत्व गरेका थिए।

यस पटक भने हालैको राजनीतिक अवस्थाका कारण नयाँ निर्वाचित सांसदहरूको शपथ प्रक्रिया समेत टुंगो नलागेकाले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थप ढिलाइ हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया