जनकपुरधाम । धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा विवादका बीच नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार मातृकाप्रसाद यादव लाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार किशोरी शाह कमल को उम्मेदवारी खारेज भएपछि मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने विषय विवादमा परेका बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो।
अन्तिम मतगणनाअनुसार यादवले १० हजार ४०३ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेस का रामपल्टन साह ले ९ हजार ५०२ मत पाएका छन् भने नेकपा एमाले का रामचन्द्र मण्डल ले ९ हजार ३१५ मत प्राप्त गरेका छन्।
तर यस क्षेत्रमा घण्टी चुनाव चिह्नमा १३ हजारभन्दा बढी मत खसेको बताइएको छ। रास्वपाका उम्मेदवार शाहको उम्मेदवारी निर्वाचन आयोग नेपाल ले खारेज गरेपछि ती मत परिणाममा समावेश गरिएको छैन।
गत फागुन १८ गते निर्वाचन आयोगले शाहको उम्मेदवारी खारेज गरेको थियो। त्यस निर्णयविरुद्ध उनले सर्वोच्च अदालत मा रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले धनुषा–१ को अन्तिम परिणाम तत्काल सार्वजनिक नगर्न आदेश दिएको थियो।
यसैबीच उम्मेदवारी खारेज भएपछि आफू नै सबैभन्दा बढी मत ल्याउने उम्मेदवार भएको दाबी गर्दै यादवले निर्वाचन परिणाम घोषणा गर्न दबाब दिएका थिए। आज उनका पार्टीका नेता तथा कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना समेत दिएका थिए।









प्रतिक्रिया