काठमाडौँ। नुवाकोट जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनको दुवै क्षेत्रमा विजयी हासिल गरेको छ। पुराना राजनीतिक दलका प्रभावशाली नेताहरूलाई पछाडि पार्दै रास्वपाले नुवाकोटमा ‘क्लिन स्वीप’ गरेको हो।
नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम तिमिल्सिना विजयी भएका छन्। मतगणनामा तिमिल्सिनाले २२ हजार ६ सय ९ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश शरण महत १८ हजार ५ सय ९७ मतमा सीमित भए। सो क्षेत्रका अन्य उम्मेदवारहरूमा नेकपाका हित बहादुर तामाङ १३ हजार ३ सय ७७ मतमा तेस्रो स्थानमा रहे भने नेकपा एमालेका बद्री मैनाली ८ हजार ९ सय ३२ मतमा पराजित भए।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका अच्युत्तम लामिछानेले ३२ हजार ५४ मतसहित भारी मतान्तरले जित हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीश्वर नरसिंह केसीले १५ हजार ५ सय ३ मत मात्रै पाएका थिए। नेकपा एमालेका केशव राज पाण्डे ८ हजार २ सय ८५ मतमा तेस्रो स्थानमा रहे।
यस नतिजासँगै नुवाकोटमा पुराना दलहरूको प्रभाव उल्टाइएको छ। २०७९ मा क्षेत्र १ बाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र क्षेत्र २ बाट नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित थिए, तर यसपटक दुवै क्षेत्रमा नयाँ नेतृत्वले बाजी मारेको छ।
रास्वपाका यी दुई नयाँ अनुहारको विजयीले नुवाकोटमा पार्टीको मजबुत उपस्थिति र जनविश्वासलाई पुष्टि गरेको छ।
प्रतिक्रिया