काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौं उपत्यका मा वायु प्रदूषण बढ्न थालेको छ। मौसम क्रमशः धुम्मिँदै जाँदा वायु गुणस्तर पनि बिग्रँदै गएको हो।
वातावरण विभाग का महानिर्देशक ज्ञानराज सुवेदी का अनुसार लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नु मुख्य कारणले मौसम धुम्मिएको हो, जसले प्रदूषण बढाउन सहयोग पुर्याएको छ।
उनले भने, “लामो समयदेखि वर्षा भएको छैन, हावा पनि चलेको छैन। त्यसैले केही दिनयता मौसम धुम्मिएको छ। गत वर्षको तुलनामा यस वर्ष प्रदूषण केही कम भए पनि वन डढेलो नलागेसम्म अत्यधिक रूपमा भने बढ्ने छैन।”
एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार आज मध्याह्नसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक १८६ पुगेको छ। यससँगै काठमाडौं विश्वका चौथो सबैभन्दा प्रदूषित सहर मध्येमा परेको जानकारी वातावरणविद् भूषण तुलाधार ले दिएका छन्।
तुलाधारका अनुसार प्रदूषण नियन्त्रणका लागि समयमै पूर्वतयारी आवश्यक छ। उनले
घरबाट निस्कने फोहरको उचित व्यवस्थापन
वन डढेलो नियन्त्रण
सवारीसाधनको धुँवा परीक्षण
वातावरणीय मापदण्डको कडाइका साथ कार्यान्वयन
जस्ता उपाय अपनाए प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने बताएका छन्।
AQI मापदण्डअनुसार:
०–५० : राम्रो
५१–१०० : सचेत रहनुपर्ने
१०१–१५० : अस्वस्थ (विशेषगरी श्वासप्रश्वास र मुटुका बिरामीका लागि जोखिम)
१५१–२०० : सबैका लागि अस्वस्थ
२०१–३०० : धेरै अस्वस्थ
३०० माथि : अत्यन्त खतरनाक
महानिर्देशक सुवेदीले विशेषगरी श्वासप्रश्वास र मुटु रोगीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया