प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले का सबै पदाधिकारी पराजित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०८२, सोमबार ०६:३०

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले का शीर्ष पदाधिकारीहरू पराजित भएका छन्। पार्टी अध्यक्षदेखि महासचिव र अन्य पदाधिकारीसम्म संसदीय निर्वाचनमा हार व्यहोरेपछि एमालेभित्र गम्भीर समीक्षा आवश्यक भएको चर्चा सुरु भएको छ।

अध्यक्ष केपी शर्मा ओली पराजित

पार्टी अध्यक्ष ओली झापा–५ मा पराजित भएका छन्। उनले १८ हजार ७३४ मत प्राप्त गर्दा बालेन्द्र शाह ले ६८ हजार ३४८ मत ल्याएर ४९ हजार ६१४ मतको फराकिलो अन्तरले उनलाई पराजित गरेका हुन्।

उपाध्यक्षहरू पनि पराजित

पार्टीका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ मा पराजित भए। उनले १२ हजार ८६१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी का सुलभ खरेल ले ५६ हजार ५५० मत ल्याएर जित हासिल गरे।

त्यस्तै अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङमा पराजित भए। उनले १६ हजार ८७६ मत ल्याउँदा रास्वपाका धर्मराज केसी ले ३३ हजार ८९८ मत प्राप्त गर्दै विजय हासिल गरे।

त्यस्तै नेता गोकर्ण विष्ट गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थी सँग पराजित भएका छन्।

महासचिव र सचिवहरू पनि पराजित

पार्टी महासचिव शङ्कर पोखरेल दाङ–२ मा १२ हजार ३७९ मतान्तरले पराजित भए। रास्वपाका विपिन कुमार आचार्य ले २० हजार ७४६ मत ल्याएर विजय हासिल गरेका हुन्।

उपमहासचिव लेखराज भट्ट कैलाली–४ मा रास्वपाका खेमराज कोइराला सँग पराजित भए। कोइरालाले २८ हजार ५५६ मत ल्याएर जित हासिल गरे भने भट्ट ९ हजार ४४४ मतसहित तेस्रो स्थानमा रहे।

सचिव महेश बस्नेत भक्तपुर–२ मा रास्वपाका राजीव खत्री सँग पराजित भए। खत्रीले ४२ हजार ३३४ मत ल्याउँदा बस्नेत १० हजार ९९६ मतमा सीमित भए।

पार्टीको भविष्यप्रति प्रश्न

यस हारपछि एमालेको नेतृत्व, नीति र कार्यक्रमबारे गम्भीर प्रश्न उठ्न थालेका छन्। २०७९ को निर्वाचनमा ७८ सिट जितेर दोस्रो ठूलो दल बनेको एमाले यसपटकको परिणामपछि चुनौतीपूर्ण अवस्थामा पुगेको विश्लेषण गरिएको छ।

निर्वाचन परिणामपछि उपाध्यक्ष विष्णु पौडेल ले सामाजिक सञ्जालमार्फत परिणामको समीक्षा गर्दै पार्टी नेतृत्व र कार्यशैली सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

०४६ सालको जनआन्दोलनपछि शक्तिशाली राजनीतिक शक्तिका रूपमा स्थापित एमालेले विगतका विभिन्न निर्वाचनहरूमा उल्लेखनीय सफलता हासिल गरेको थियो। तर पछिल्लो परिणामले पार्टीभित्र व्यापक आत्मसमीक्षाको आवश्यकता देखिएको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया

slot gacor