काठमाडौं । केपी शर्मा ओली झापा–५ मा बालेन्द्र शाह सँग भारी मतान्तरले पराजित भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गर्ने खालको ब्रिफिङ गरेका छन्। आफ्नो तीन दशक लामो ‘किल्ला’ भत्किएपछि नेकपा (एमाले) का अध्यक्ष ओलीले अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पुराना दलका नेतामाथि कडा धरपकड हुन सक्ने आशंका व्यक्त गरेका हुन्।
स्रोतका अनुसार, शनिबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेका एमाले केन्द्रीय सदस्यहरूसँग ओलीले आगामी राजनीतिक अवस्था चुनौतीपूर्ण हुन सक्ने संकेत दिएका छन्। तर, उनको मुख्य चिन्ता भदौ २३–२४ को जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदनको सम्भावित सिफारिसतर्फ केन्द्रित रहेको बताइएको छ।
ओलीलाई भेटेका एक नेताका अनुसार उनले आफ्ना कमजोरीबारे चर्चा नगरी बरु रास्वपा सरकारले पुराना दलका नेतामाथि मुद्दा चलाउन सक्ने चिन्ता र आक्रोश व्यक्त गरेका थिए। चुनावी परिणाम सार्वजनिक भइरहँदा ओली निवासमा विगतको तुलनामा नेता–कार्यकर्ताको चहलपहल पनि कम देखिएको स्रोतले जनाएको छ।
ब्रिफिङका मुख्य बुँदा
धरपकडको आशंका:
ओलीले रास्वपाको बहुमत सरकार बनेपछि विभिन्न बहानामा आफू लगायत पुराना पार्टीका नेतामाथि मुद्दा चलाएर जेल हाल्ने प्रयास हुन सक्ने दाबी गरेका छन्।
भू–राजनीतिक डिजाइन:
नेपालमा संविधान र लोकतन्त्र स्थापना गर्ने दलहरूलाई कमजोर बनाउन लामो समयदेखि भू–राजनीतिक योजना बनाइएको र अहिले त्यसले परिणाम दिन थालेको उनको तर्क रहेको बताइएको छ।
विगतका घटनाको कडी:
भदौ २३ र २४ का घटनाक्रमहरू अहिलेको राजनीतिक परिस्थितिको पृष्ठभूमि तयार पार्नका लागि भएको हुन सक्ने संकेत उनले गरेका छन्।
अन्य दलप्रति असन्तुष्टि:
चुनाव रोक्ने वा प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा नेपाली कांग्रेस र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पक्षले साथ नदिएकोमा पनि ओलीले असन्तुष्टि व्यक्त गरेको स्रोतको दाबी छ।
भारी मतान्तरले बालेनको जित
झापा–५ मा बालेन्द्र शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। ओली भने १८ हजार ७३४ मतमा सीमित भएका छन्। काठमाडौँ महानगरपालिकाको प्रमुख पद त्यागेर राष्ट्रिय राजनीतिमा होमिएका बालेनका लागि यो जितले राष्ट्रिय राजनीतिमा बलियो उपस्थितिको संकेत दिएको विश्लेषण गरिएको छ।
झापा–५ क्षेत्र विगत तीन दशकदेखि ओलीको प्रभाव क्षेत्र मानिन्थ्यो। २०४८ सालदेखि सक्रिय रूपमा यही क्षेत्रबाट चुनाव लड्दै आएका ओलीले २०५६ साल बाहेक यहाँ कहिल्यै हार व्यहोरेका थिएनन्।









प्रतिक्रिया