निर्वाचनमा खटिने कर्मचारीले आचारसंहिता अनिवार्य पालना गर्नुपर्ने : निर्वाचन आयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०८२, बुधबार ०८:००

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा खटिने कर्मचारीले आफ्नो सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेखित प्रावधानहरू समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ।

आयोगद्वारा जारी आचारसंहितामा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरिएको छ। निर्वाचन प्रक्रियामा संलग्न कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय कर्तव्य तथ्यपरक र निष्पक्ष रूपमा निर्वाह गर्नुपर्ने उल्लेख गरिएको छ।

आचारसंहिताअनुसार निर्वाचन अवधिभर मुलुकको प्रतिनिधित्व हुने औपचारिक विदेश भ्रमणबाहेक अन्य कुनै प्रयोजनका लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आयोगको पूर्वस्वीकृतिविना विदेश भ्रमणमा जान वा पठाउन नहुने व्यवस्था गरिएको छ।

यसैगरी, उम्मेदवार, राजनीतिक दल वा तिनका भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थानअन्तर्गतका भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने आयोगले स्पष्ट पारेको छ।

आयोगले निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

slot gacor