काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी शनिबारसम्म देशभर मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार मुलुकका केही पहाडी भू-भागमा आंशिक बदली देखिए पनि वर्षाको कुनै सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।
उनका अनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभासहित गण्डकी प्रदेशको कास्की जिल्लाका केही स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ। तर, यी क्षेत्रका सबै भू-भागमा वर्षा हुने अवस्था नरहेको उनले बताए।
मंगलबारको तुलनामा बुधबारको मौसम केही खुल्ने अनुमान गरिएको छ। बुधबार पनि मुलुकका केही पहाडी क्षेत्रमा हल्का बादल लागे पनि उल्लेखनीय मौसमी जोखिम नदेखिएको मौसमविद् पौडेलको भनाइ छ।
उनले गर्मीयाम सुरु हुँदै जाँदा दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिन सक्ने भए पनि यस साताभरि वर्षा तथा हिमपातको कुनै सम्भावना नरहेको बताए।
पौडेलका अनुसार बिहीबार र शनिबारका दिन भने गण्डकी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का बादल देखिन सक्छन्। यद्यपि, मौसमी गतिविधिले कुनै ठूलो असर नपार्ने र आगामी निर्वाचन प्रक्रियामा पनि मौसमले प्रभाव नपर्ने उनले स्पष्ट पारे।
प्रतिक्रिया