जेनजी आन्दोलनमा आगजनी र तोडफोड आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० फाल्गुन २०८२, बुधबार ०७:५४

काठमाडौँ । भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा राज्यका महत्त्वपूर्ण निकायमा तोडफोड तथा आगजनी गरेको आरोपमा १३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ ले उपत्यकाभित्रका प्रहरी कार्यालय, अदालत तथा सिंहदरबार मा आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको हो।

काठमाडौँ जिल्ला अदालत का सूचना अधिकारी दीपक श्रेष्ठ का अनुसार सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशिष गुरुङविरुद्ध आपराधिक उपद्रो तथा डाँका सम्बन्धी कसुरमा अभियोग दायर गरिएको छ।

त्यस्तै, सर्वोच्च अदालत मा आगजनी गरेको आरोपमा सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरूलाई आपराधिक उपद्रो मच्चाएको अभियोग लगाइएको छ।

सर्वोच्च अदालतले घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौँ प्रहरी परिसर मा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा अनुसन्धान गरी मुद्दा दायर गरिएको हो।

अभियोगपत्र अनुसार सर्वोच्च अदालतमा आगजनी गर्दा एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ।

यसैगरी, प्रहरी वृत्त बौद्धमा तोडफोड गरेको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध मुद्दा दायर गरिएको छ। प्रहरी प्रभाग बलम्बुमा तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा चलाइएको छ।

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूलाई हाजिर जमानीमा रिहा गरेको जनाएको छ। अब उनीहरूसँग म्याद जारी गर्न अदालतमा प्रक्रिया अघि बढाइएको अधिकारीहरूले जानकारी दिएका छन्।

यद्यपि, विष्णुप्रसाद ढुंगोलविरुद्ध भने मुद्दा नचल्ने निर्णय गरिएको छ। घटनास्थलमा उपस्थित भएको भिडियो प्रमाण नदेखिएको र अन्य प्रतिवादीहरूले पनि पोल नगरेको आधारमा उनीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको सरकारी वकिल कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply