निर्वाचन आयोगको वेबसाइट सुस्त र पटक–पटक डाउन, ट्राफिक बढ्नु मुख्य कारण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०८२, मंगलवार ०७:३३

काठमाडौँ । निर्वाचन आयोग नेपाल को वेबसाइट खुल्न लामो समय लाग्ने तथा बेला–बेलामा डाउन हुने समस्या देखिएको छ। वेबसाइटको मुख्य पृष्ठ, प्रतिनिधि सभा सदस्य निर्वाचनको वास्तविक नमुना मतपत्र, समानुपातिकतर्फको नमुना मतपत्र तथा मतदाता नामावली सम्बन्धी पृष्ठहरू खोल्दा ढिलो लोड हुने समस्या देखिएको हो।

कतिपय अवस्थामा साइट नै खुल्न नसक्ने अवस्था आएको प्रयोगकर्ताहरूले गुनासो गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा वेबसाइटमा ट्राफिक अत्यधिक बढेकाले यस्तो समस्या देखिएको आयोगका सूचना प्रविधि शाखाका प्रमुख योगेश अर्याल ले बताए।

उनका अनुसार मत परिणाम सार्वजनिक हुने समयमा ट्राफिक झनै बढ्ने सम्भावना रहेकाले त्यसका लागि आवश्यक तयारी भइरहेको छ।

“आज (आइतबार) मात्र हामीले आईडीएमसी लाई आवश्यक रिसोर्स बढाउन अनुरोध गरेका छौँ। आईडीएमसीले स्रोत बढाएपछि अहिले जस्तो साइट स्लो वा डाउन हुने समस्या समाधान हुने विश्वास छ,” अर्यालले भने।

निर्वाचन आयोगको वेबसाइट आईडीएमसीमा होस्टिङ हुँदै आएको छ। वेबसाइट व्यवस्थापन आयोग आफैँले गर्दै आए पनि होस्टिङ पूर्वाधार भने आईडीएमसीले उपलब्ध गराउँदै आएको सूचना प्रविधि निर्देशक शिवजीकुमार गुप्ता रौनियार ले जानकारी दिए।

“आयोगबाट अनुरोध आएपछि हामी प्राविधिक समस्या के हो भन्ने विश्लेषण गर्छौँ। आवश्यक देखिएमा स्रोत विस्तार गरेर सेवा स्थिर बनाउँछौँ,” उनले भने।

उनका अनुसार निर्वाचन अवधिभर वेबसाइटको साइबर सुरक्षाका लागि साइबर सुरक्षा केन्द्र पनि स्ट्यान्डबाई अवस्थामा राखिएको छ। आयोगले बढ्दो ट्राफिक र सम्भावित साइबर जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply