काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक एप मा मतदाता परिचयपत्रको स्क्रिनशट लिन मिल्ने सुविधा थपिएको छ। यससँगै कतिपय मतदातामा उक्त स्क्रिनशट प्रयोग गरी मतदान गर्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा बढेको छ।
मतदान निर्देशिका २०८२ को दफा ८४ अनुसार मतदान गर्न जाँदा मोबाइल साथमा लिएर जान नपाइने व्यवस्था छ। त्यसैले नागरिक एपमै रहेको मतदाता परिचयपत्र देखाएर मतदान गर्ने सम्भावना हुँदैन।
यस्तो अवस्थामा मोबाइलबाट लिइएको स्क्रिनशट प्रिन्ट गरेर लैजान सकिने भए पनि त्यसलाई आधिकारिक परिचयपत्र मानिन्छ कि मानिँदैन भन्ने प्रश्न उठेको छ।
निर्देशिकाको दफा ४३ अनुसार मतदान केन्द्रमा पुगेपछि मतदान अधिकृत वा खटाइएको कर्मचारीले मतदाता परिचयपत्र हेरेर सम्बन्धित व्यक्तिको नाम मतदाता नामावलीमा समावेश छ कि छैन, फोटो र विवरण मिल्छ कि मिल्दैन जाँच गर्नुपर्छ।
यस क्रममा नाम, थर, उमेर, पिता/माताको नाम तथा विवाहित भए पति/पत्नीको नाम सोधेर पुष्टि गरिन्छ। मतदाता नामावलीमा उल्लेखित व्यक्ति सोही हो भन्नेमा विश्वस्त भएपछि मात्र मतपत्र उपलब्ध गराइन्छ।
मतदाता परिचयपत्रमा मतदाता नम्बर उल्लेख हुने भएकाले नाम रुजु गर्न सजिलो हुन्छ। तर परिचयपत्र नभए के गर्ने?
निर्देशिका अनुसार मतदाता परिचयपत्र नभए पनि अन्य सक्कल परिचयपत्रका आधारमा मतदान गर्न सकिन्छ। ती हुन्:
नागरिकता प्रमाणपत्र
राष्ट्रिय परिचयपत्र
राहदानी (पासपोर्ट)
जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)
सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)
निर्वाचन आयोग का प्रवक्ता नारायण प्रसाद भट्टराई ले मतदानका लागि यीमध्ये कुनै एक सक्कल परिचयपत्र अनिवार्य रूपमा साथमा हुनुपर्ने बताएका छन्।
उनका अनुसार मतदाता परिचयपत्रको प्रिन्ट वा फोटोकपी साथमा भए नाम रुजु गर्दा सहजता भने हुन्छ, तर स्क्रिनशटको प्रिन्टकै आधारमा मात्र मतदान गर्न दिने निर्णय हालसम्म आयोगले गरेको छैन।
नागरिक एपको भोटर आईडीमा क्यूआर कोड समावेश गरिएको छ, जसलाई स्क्यान गरी मतदाताको रुजु तथा प्रमाणीकरण गर्न सकिने सुविधा प्राविधिक रूपमा उपलब्ध छ। तर सबै मतदान स्थलमा भरपर्दो इन्टरनेट सुनिश्चित नभएको र डेटाबेससम्बन्धी सम्भावित त्रुटिलाई ध्यानमा राख्दै आगामी निर्वाचनअघि यस्तो निर्णय हुने सम्भावना कम रहेको सूचना प्रविधि शाखाका एक अधिकृतले बताएका छन्।
हालको अवस्थामा मतदाता परिचयपत्रको स्क्रिनशट वा त्यसको प्रिन्ट मात्रका आधारमा मतदान गर्न पाइने व्यवस्था छैन। मतदान गर्न जाँदा आयोगले तोकेको कुनै एक सक्कल परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानु उपयुक्त हुनेछ।
प्रतिक्रिया