सबै एन्ड्रोइडमा एप्पलको ‘एयरड्रप’ जस्तै सुविधा, गुगलले विस्तार गर्ने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०८२, मंगलवार ०७:२८

काठमाडौँ । एप्पलको फाइल शेयरिङ फिचर AirDrop अब सबै एन्ड्रोइड डिभाइसमा पनि उपलब्ध हुने भएको छ। Google ले अन्य एन्ड्रोइड स्मार्टफोनबाट पनि एप्पलका डिभाइसमा फाइल पठाउन मिल्ने गरी सुविधा विस्तार गर्न लागेको पुष्टि गरेको हो।

गत वर्ष गुगल र Apple ले दुई अपरेटिङ सिस्टमबीचको ठूलो पर्खाल भत्काउँदै गुगलको Quick Share र एप्पलको AirDrop बीच अन्तरआबद्धता सुरु गरेका थिए। यसबाट गुगलको Pixel फोन र iPhone बीच सहजै फाइल आदानप्रदान गर्ने नयाँ बाटो खुलेको थियो।

लामो समयसम्म एन्ड्रोइडले AirDrop सँग सीधा प्रतिस्पर्धा गर्न सकेको थिएन। तर Quick Share र AirDrop मिलेर काम गर्ने सम्भावना धेरैका लागि अकल्पनीय थियो। फिचर उपलब्ध भएसँगै अन्य एन्ड्रोइड फोनमा पनि विस्तार हुने अनुमान गरिएको थियो।

नोभेम्बर २०२५ मा यो फिचर सार्वजनिक भए पनि सुरुवातमा यो गुगलको Pixel 10 सिरिजमा मात्र सीमित थियो। अन्य एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो फोनमा सुविधा कहिले आउने हो भन्ने प्रतीक्षा गरिरहेका थिए।

हालै एक प्रेस ब्रिफिङमा एन्ड्रोइडका इन्जिनियरिङ उपाध्यक्ष एरिक केले यसै वर्षभित्र अपडेट ल्याउने लक्ष्य रहेको बताएका छन्। उनका अनुसार आईफोन मात्र नभई iPadMacBook सँग पनि उपयुक्त हुने सिस्टम विकास गर्न धेरै समय र ऊर्जा खर्च गरिएको छ।

गुगलले यो सुविधा सुरुदेखि नै व्यापक रूपमा विस्तार गर्ने संकेत दिएको थियो। सफ्टवेयर अनुसन्धानकर्ताले उक्त फिचरलाई पिक्सेलमा मात्र सीमित नराखी Google Play Store मा छुट्टै एपका रूपमा राखिएको पत्ता लगाएका थिए।

यसैबीच QualcommNothing ले पनि आफ्नो हार्डवेयरमा यो फिचर सञ्चालन गर्न काम गरिरहेको जानकारी दिइसकेका छन्। यसले सुविधा विस्तार हुने कुरा झनै स्पष्ट बनाएको छ।

यद्यपि गुगलले यसको सार्वजनिक हुने निश्चित मिति तोकेको छैन। तर ‘छिट्टै’ सबै एन्ड्रोइड प्रयोगकर्ताले एप्पल डिभाइससँग प्रत्यक्ष फाइल सेयर गर्न सक्ने सङ्केत भने स्पष्ट रूपमा दिएको छ।

प्रतिक्रिया

Leave a Reply