मतदाता सूचीदेखि आचारसंहितासम्म : निर्वाचन आयोगको ‘कल सेन्टर’ मा दैनिक २०० सम्म जिज्ञासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०८२, मंगलवार ०६:५९

काठमाडौं । “मतदाता सूचीमा नाम कहाँ हेर्ने होला ?” — कान्तिपथस्थित निर्वाचन आयोग को बहादुर भवनको मूलढोका पार गरेर भित्र छिरेका करिब ५० वर्षीय एक मतदाताले कर्मचारीसँग जिज्ञासा राखे।

कर्मचारीले ‘आफ्नै मोबाइलबाट हेर्न सकिन्छ’ भने पनि ती मतदाताले प्रविधिमा सहज नभएको भन्दै प्रत्यक्ष हेर्न चाहेको बताए। उनलाई आयोगको सूचना प्रविधि शाखामा पठाइयो। कम्प्युटरमा आफ्नो नाम र मतदान स्थल पुष्टि भएपछि उनी ढुक्क हुँदै फर्किए। परिवारमा नयाँ पुस्ताका सदस्य नभएकाले मोबाइल प्रयोगमा अभ्यस्त नभएको उनले बताएका थिए।

आयोगका कर्मचारीले उनलाई यस्तो जिज्ञासाका लागि कार्यालयमै धाउनुपर्दैन, पैसा नलाग्ने ‘कल सेन्टर’ मा फोन गरेर पनि जानकारी लिन सकिने सम्झाएका थिए।

टोल–फ्रि नम्बर ११०२

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले यसपटक पनि टोल–फ्रि नम्बर ११०२ सञ्चालनमा ल्याएको छ। उक्त नम्बरमा फोन गरी मतदाता परिचयपत्र, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता लगायत विषयमा जानकारी लिन सकिन्छ।

कल सेन्टरका संयोजक एवं उपसचिव सपना भट्टराई का अनुसार हाल नौ जना कर्मचारी कार्यरत छन्, जसमा कम्प्युटर अधिकृत र नेपाल टेलिकमका प्राविधिकसमेत छन्। बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा उपलब्ध हुन्छ। दैनिक ७० देखि २०० सम्म फोन आउने गरेको उनले जानकारी दिइन्।

“धेरै प्रश्नको समाधान हामीले नै गर्छौँ, जटिल विषय भए सम्बन्धित शाखामा पठाउँछौँ,” उनले भनिन्।

कस्ता जिज्ञासा आउँछन् ?

आयोगका सहप्रवक्ता कुलबहादुर जिसी का अनुसार मतदाता नामावली दर्ता, परिचयपत्र, मतदान प्रक्रिया, आचारसंहिता उल्लङ्घन र सजायसम्बन्धी प्रश्न धेरै आउने गरेका छन्।

मतदाता नामावली दर्ताका लागि नागरिकतासहित सम्बन्धित निर्वाचन कार्यालयमा आवेदन दिनुपर्ने व्यवस्था छ। तर निर्वाचन नजिक आइसकेकाले हाल नाम दर्ता र अद्यावधिक कार्य कानुनी प्रावधानअनुसार स्थगित गरिएको छ।

आचारसंहिता उल्लङ्घन भए के हुन्छ ?

निर्वाचन आचारसंहिता, २०८२ अनुसार उल्लङ्घन भए एक लाख रुपैयाँसम्म जरिवाना, उम्मेदवारी रद्द वा छ वर्षसम्म निर्वाचनमा अयोग्य ठहर गर्न सकिने व्यवस्था छ। प्रचलित कानुनअनुसार निर्वाचन कसुर भए निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुन्छ।

उल्लङ्घन भएको जानकारी मौखिक, लिखित, सामाजिक सञ्जाल वा विद्युतीय माध्यमबाट आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृत वा अनुगमन अधिकृतसमक्ष दिन सकिन्छ। उजुरी दिँदा आधार र प्रमाण संलग्न गर्नुपर्ने व्यवस्था छ।

विदेशी पर्यटक र सवारीसाधन

निर्वाचनको दिन राष्ट्रिय वा अन्तर्राष्ट्रिय उडान रोकिने छैन। तर सवारीसाधन सञ्चालनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा काठमाडौंमा आयोगबाट अनुमति लिनुपर्ने व्यवस्था छ। अत्यावश्यक सेवा, कूटनीतिक नियोग र मानव अधिकार आयोगका सवारीबाहेक अन्य सवारी अनुमति बिना सञ्चालन गर्न पाइँदैन।

मत बदर हुने अवस्था

कानुनी व्यवस्थाअनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र, आयोगले तोकेको चिन्हबाहेक अन्य चिन्ह प्रयोग गरिएको मतपत्र, एकभन्दा बढी उम्मेदवारलाई मत दिइएको, चिन्ह नबुझिने गरी लत्पतिएको वा च्यातिएको मतपत्र लगायत अवस्था मत बदर हुने श्रेणीमा पर्छ।

सामाजिक सञ्जाल निगरानी

आयोगले सामाजिक सञ्जाल र आमसञ्चारमा प्रकाशित भ्रामक सामग्रीको निगरानी गर्न ‘सूचना सदाचार प्रवर्द्धन इकाई’ गठन गरेको जनाएको छ। तथ्यहीन सामग्री फेला परे सम्बन्धित निकायलाई कारबाहीका लागि निर्देशन दिइने गरिएको छ।

आयोगका अनुसार मतदातालाई यथार्थपरक सूचना दिन सामाजिक सञ्जाल, पत्रकार सम्मेलन, विज्ञप्ति तथा ई–बुलेटिनमार्फत नियमित सूचना प्रवाह गरिँदै आएको छ।

निर्वाचनबारे अन्य जिज्ञासा भए टोल–फ्रि नम्बर ११०२ मा सम्पर्क गर्न आयोगले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply