मौन अवधिमा सुरक्षा व्यवस्था कडा, ढुक्क भएर मतदान गर्न आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ फाल्गुन २०८२, मंगलवार ०६:५३

काठमाडौं । ओमप्रकाश अर्याल ले निर्वाचन प्रचारप्रसार निषेध (मौन) अवधिमा सुरक्षा व्यवस्था थप चुस्त बनाइएको बताएका छन्।

निर्वाचन आयोग को बहादुर भवनस्थित कार्यालयमा मौन अवधि सुरु हुनु अघि आयोजित छलफलमा गृहमन्त्री अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी, सुरक्षा प्रबन्ध र आचारसंहिताको कार्यान्वयनबारे जानकारी दिँदै ढुक्क भएर मतदान गर्न सकिने वातावरण निर्माण गरिएको बताए।

उनले सबै सुरक्षा निकाय र सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय गरी निर्वाचन सुरक्षालाई भरपर्दो बनाइएको उल्लेख गरे। अति संवेदनशील र संवेदनशील मतदान केन्द्रहरूको पहिचान गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारीसमेत उनले दिएका छन्।

सो अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सँग सुरक्षा अवस्था तथा आचारसंहिता कार्यान्वयनबारे विस्तृत छलफल भएको थियो। मन्त्रालय र आयोगका पदाधिकारीहरूको उपस्थितिमा निर्वाचनको समग्र तयारी, मतपेटिका ढुवानी तथा व्यवस्थापनसम्बन्धी विषयमा जानकारी आदानप्रदान गरिएको जनाइएको छ।

निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ भने मौन अवधि आज राति १२ बजेदेखि लागू हुनेछ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मौन अवधिमा आचारसंहिताको सूक्ष्म अनुगमन गरिने र उल्लङ्घन भए कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्। आयोगले अनुगमन अधिकृतहरूलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ।

मौन अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया तथा कुनै पनि माध्यमबाट गरिने निर्वाचन प्रचार निषेध गरिएको छ। सञ्चारमाध्यमले पनि दल वा उम्मेदवारको पक्ष–विपक्षमा सामग्री प्रकाशन वा प्रसारण गर्न नपाउने व्यवस्था आचारसंहितामा उल्लेख छ।

गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यसअघि विभिन्न जिल्लाका अति संवेदनशील मतदान केन्द्रहरूको स्थलगत अनुगमनसमेत गरेका थिए। आयोगका अनुसार समग्र शान्ति–सुरक्षा अवस्थाबारे सम्बन्धित निकायबाट नियमित जानकारी लिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

Leave a Reply