फागुपूर्णिमा आज हिमाली तथा पहाडी जिल्लामा धूमधाम, इतिहासदेखि वर्तमानसम्मको महत्व

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ फाल्गुन २०८२, सोमबार ०९:२९

काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज देशका हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र उल्लासको सन्देश दिने यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाउने परम्परा रहँदै आएको छ । तराई–मधेस क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाइन्छ र सोही दिन सार्वजनिक बिदा दिइने गरिएको छ ।

वसन्तपुरमा चिर दहनको परम्परा

काठमाडौंको वसन्तपुर दरबार क्षेत्र मा फागुन शुक्ल अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको दिन ढालेर बाजागाजासहित टुँडिखेल पुर्‍याई विधिपूर्वक दहन गर्ने परम्परा छ । चिरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लिने तथा खरानीलाई शुभ टीकाका रूपमा प्रयोग गर्ने चलन पनि रहेको छ ।

आजै राति टुँडिखेल क्षेत्रमा ‘गुरुमापा’ नामक राक्षसलाई विशेष विधिअनुसार भात र मासु चढाई ‘जधु’ धारामा चुठाउने नेवार समुदायको सांस्कृतिक परम्परा पनि प्रचलित छ ।

पौराणिक इतिहास

होली पर्वको इतिहास त्रेतायुगसँग जोडिन्छ । दैत्यराज हिरण्यकश्यपु ले आफ्ना विष्णुभक्त पुत्र प्रह्लाद लाई मार्न आगोले नछुने वरदान पाएकी बहिनी होलिका सँगै दन्किरहेको आगोमा बस्न लगाएका थिए । तर होलिका नै भष्म भइन् र प्रह्लाद सुरक्षित रहे । अन्यायमाथि सत्यको विजयको प्रतीकका रूपमा होली मनाइने विश्वास गरिन्छ ।

द्वापरयुगमा कंसद्वारा पठाइएकी राक्षसी पुतना ले बालक श्रीकृष्ण लाई मार्ने प्रयास गर्दा असफल भई मारिएकी कथासमेत यस पर्वसँग जोडिएको छ । धर्मग्रन्थहरूमा दुष्ट प्रवृत्तिमाथि सद्गुणको विजयका रूपमा होली मनाउने उल्लेख पाइन्छ ।

सामाजिक र आयुर्वेदिक महत्व

रङ र अबिरले एकापसमा खुशी साटासाट गर्ने यो पर्व सामाजिक एकताको प्रतीक मानिन्छ । विगतमा उपत्यकामा केही उच्छृंखल गतिविधि हुने गरे पनि पछिल्ला वर्षहरूमा सुरक्षाकर्मीको सक्रियताका कारण जबर्जस्ती रङ हाल्ने, फोहर पानी छ्याप्ने जस्ता विकृति घटेका छन् ।

आयुर्वेदिक दृष्टिले प्राकृतिक रङको प्रयोगले छालाको सुरक्षा गर्ने तथा चिर दहनबाट निस्कने धुवाँले वातावरण शुद्धीकरणमा सहयोग पुग्ने विश्वास गरिन्छ ।

सभ्य र सुरक्षित रूपमा मनाउने आग्रह

पछिल्ला वर्षहरूमा रासायनिक रङ, नशालु पदार्थ सेवन गरी झैझगडा गर्ने तथा सवारीसाधनमा क्षति पुर्‍याउने प्रवृत्ति घट्दो क्रममा रहेको छ । सरोकारवाला निकायले सुरक्षित, सभ्य र वातावरणमैत्री ढंगले होली मनाउन आग्रह गरेका छन् ।

होली केवल रङ खेल्ने पर्व मात्र नभई सत्यको विजय, सद्भाव र सामाजिक एकताको सन्देश दिने ऐतिहासिक तथा सांस्कृतिक पर्वका रूपमा आज पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

प्रतिक्रिया

Leave a Reply