एनटिसी स्टील्स लिमिटेड सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०८२, आईतवार १५:४२

काठमाडौं। एनटिसी स्टील्स लिमिटेडले प्रचलित धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनटिसी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड लाई नियुक्त गरेको जनाएको छ। यस सम्बन्धी सम्झौतामा एनटिसी स्टील्सका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए। सम्झौता कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्पन्न भएको हो।

एनटिसी स्टील्स लिमिटेड पूर्ण स्वचालित प्लान्टसहित टीएमटी रिबार उत्पादनमा विशेषज्ञता हासिल गरेको नेपाली उद्योग हो। भौगोलिक जटिलता र भूकम्पीय जोखिम रहेको नेपालजस्तो देशमा मजबुत संरचना निर्माणका लागि गुणस्तरीय फलामजन्य सामग्री आवश्यक पर्ने सन्दर्भमा कम्पनीले अत्याधुनिक जापानी प्रविधिमा आधारित ‘सिक्स स्ट्यान्ड ब्लक मिल’ प्रयोग गरी उत्पादन गर्दै आएको जनाएको छ।

विश्वस्तरीय प्रविधिको प्रयोगमार्फत उच्च गुणस्तर कायम गर्दै देशलाई फलाम तथा रडजन्य पदार्थमा आत्मनिर्भर बनाउने, औद्योगिक आधार सुदृढ गर्ने र रोजगारी सिर्जना गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको उल्लेख गरिएको छ।

आईपीओ निष्काशन प्रक्रियासम्बन्धी थप विवरण नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया