श्री भगवती क्लबको ३५औँ वार्षिकोत्सव: राष्ट्रिय लिग खेलाडीलाई ज्याकेट वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ फाल्गुन २०८२, आईतवार १५:१०

काठमाडौं (टोखा) ।  “आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं” भन्ने मूल मन्त्रका साथ २०४७ सालमा स्थापना भएको श्री भगवती क्लब ले आफ्नो ३५औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।

टोखा नगरपालिका–२ मा आयोजित कार्यक्रममा राष्ट्रिय लिग फुटबल प्रतियोगिता २०८२ का खेलाडीहरूलाई ज्याकेट वितरण गरिएको थियो। यस वर्ष देशव्यापी निर्वाचनलाई मध्यनजर गर्दै कार्यक्रम क्लबको आफ्नै सभाहलमा सीमित रूपमा आयोजना गरिएको क्लबले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि क्लबका ज्येष्ठ सदस्य काशीलाल श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।

प्रमुख अतिथि काशीलाल श्रेष्ठले क्लबले तीन दशकभन्दा बढी समयदेखि सामाजिक र खेलकुद क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउँदै भने, “युवा पुस्तालाई खेलकुदमार्फत अनुशासन र सकारात्मक मार्गतर्फ प्रेरित गर्नु क्लबको ठूलो उपलब्धि हो। आगामी दिनमा अझ सशक्त भूमिका खेल्न शुभकामना दिन्छु।”

क्लबका अध्यक्ष गणेशलाल श्रेष्ठले वार्षिकोत्सवको अवसरमा खेलाडीहरूलाई प्रोत्साहनस्वरूप ज्याकेट वितरण गरिएको उल्लेख गर्दै भने, “हामीले स्थापनाकालदेखि समाजसेवा र खेलकुद प्रवर्द्धनलाई प्राथमिकता दिएका छौं। राष्ट्रिय लिगमा सहभागी खेलाडीहरूलाई सानो सहयोगमार्फत हौसला प्रदान गर्ने उद्देश्य हो।”

कार्यक्रमका सञ्चालक तथा पूर्वअध्यक्ष निरञ्जन डंगोलले क्लबको इतिहास स्मरण गर्दै सदस्यहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। “३५ वर्षको यात्राले हामीलाई अनुभव र पहिचान दिएको छ। अब आगामी पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै संस्थालाई अझ गतिशील बनाउनुपर्छ,” उनले भने।

उक्त कार्यक्रममा ज्याकेट प्रायोजन Gaja Raj Joshi Trust ले गरेको थियो। क्लबले आगामी दिनमा सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रतिक्रिया