काठमाडौं । प्रेस काउन्सिल नेपाल ले भदौ २३–२४ को ‘जेन जी आन्दोलन’ सम्बन्धी BBC World Service बाट सार्वजनिक वृत्तचित्रबारे सिर्जित विवाद आफ्नो “स्पष्ट क्षेत्राधिकारभित्र पर्ने नदेखिएको” जनाएको छ।
काउन्सिलले आवश्यक प्रक्रिया अघि बढाउन नेपाल सरकार र निर्वाचन आयोग नेपाल लाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिएको छ।
निर्वाचन आयोगका अधिकारीहरूका अनुसार उक्त भिडियो विभिन्न नेपाली सञ्चारमाध्यमहरूले पुनःप्रसारण/प्रकाशन गरेको विषयमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उजुरी परेको छ।
शुक्रवार साँझ काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा निम्न कानुनी प्रावधान उल्लेख गरिएको छ :
पत्रकार आचारसंहिता, २०७३
पत्रकार आचारसंहिता उजुरी र कारबाहीसम्बन्धी कार्यविधि, २०७५
दफा ५(ठ) अनुसार विदेशबाट सञ्चालित अनलाइन वा अन्य माध्यमविरुद्ध उजुरी परेमा नेपाली नागरिक भए सम्बन्धित दूतावासमार्फत र विदेशी नागरिक भए कूटनीतिक माध्यमबाट समन्वय गर्नुपर्ने व्यवस्था छ।
निर्वाचन आचारसंहिता, २०८२
दफा २५ मा सञ्चार प्रतिष्ठान, कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण तोकिएको छ।
दफा २५(१)(ट) अनुसार “नेपालको निर्वाचन, राजनीतिक दल र उम्मेदवारलाई नकारात्मक असर पुग्ने गरी विदेशी सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सामग्री पुनः प्रकाशन वा प्रसारण गर्न नहुने” व्यवस्था उल्लेख छ।
काउन्सिलले पछिल्लो समय केही नेपाली सञ्चारमाध्यमहरूले बीबीसी विश्व सेवाको वृत्तचित्र “विश्वसनीयताको परीक्षण नगरी” आफ्नै विश्लेषणसहित प्रसारण गरेको देखिएको भन्दै सचेत गराएको छ।
साथै, आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।
प्रतिक्रिया