काठमाडौँ । निजी स्वास्थ्य क्षेत्रको अग्रणी संस्था ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ले पुनः निरन्तर नेतृत्वलाई निरन्तरता दिएको छ। अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। बिहीबार सम्पन्न १४ औँ वार्षिक साधारणसभाले उहाँलाई आगामी चार वर्षका लागि पुनः जिम्मेवारी सुम्पिएको हो।
स्थापनाकालदेखि नै नेतृत्व सम्हाल्दै आउनुभएका अध्यक्ष कुँवरले चुनौतीबीच अवसर खोज्दै संस्थालाई स्थायित्वतर्फ डोर्याउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। प्रारम्भिक चरणमा देखिएका आर्थिक तथा व्यवस्थापकीय अवरोधहरूलाई क्रमशः समाधान गर्दै उहाँले अस्पताललाई संस्थागत सुदृढीकरणको दिशामा अघि बढाउनुभएको छ।
चौँथो कार्यकालको जिम्मेवारी सम्हाल्दै अध्यक्ष कुँवरले ग्राण्डीलाई ‘विश्वस्तरीय उपचार सेवाको गन्तव्य’ बनाउने आफ्नो दीर्घकालीन योजना पुनः दोहोर्याउनुभयो। अस्पतालको आर्थिक भार घटाउँदै शेयर सदस्यहरूको लगानी सुरक्षित र मुनाफामूलक बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो। यसै आर्थिक वर्षभित्र संस्थागत ऋणमुक्त भई शेयर सदस्यलाई प्रतिफल वितरण गर्ने लक्ष्यतर्फ अस्पताल उन्मुख रहेको जानकारी पनि दिइयो।
निजी क्षेत्रका अन्य स्वास्थ्य संस्थाहरू चुनौतीको सामना गरिरहेका बेला ग्राण्डीले व्यवस्थापन सुधार र सेवा विस्तारलाई प्राथमिकता दिएको देखिन्छ। व्यवस्थापनमा अब्बल क्षमता राख्ने कुँवरको नेतृत्वमा अस्पतालले सेवा गुणस्तर, पूर्वाधार विस्तार र जनविश्वास सुदृढ गर्ने कार्यलाई तीव्रता दिएको छ।
साधारणसभाबाट सञ्चालक समितिमा इञ्जिनियर विजय राजभण्डारी, डा. सुनिलराम बैद्य, सुरुची ज्योति, फुर्पा दोर्जे लामा र निता शाही निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डा. अवतार न्यौपानेले जानकारी दिनुभयो।
वि.सं. २०६९ मा टोखा नगरपालिका–८, धापासीमा स्थापना भएको ग्राण्डी २८ रोपनी क्षेत्रफलमा फैलिएको छ। २०० शैयाको क्षमतासहित सञ्चालनमा रहेको अस्पतालमा हाल झण्डै एक हजार चिकित्सक, नर्स तथा कर्मचारी कार्यरत छन्। नेपालमै अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यसहित स्थापना भएको ग्राण्डीले अहिले आफूलाई देशकै भरोसायोग्य निजी स्वास्थ्य संस्थामध्ये एकका रूपमा स्थापित गरिरहेको दाबी गरेको छ।
प्रतिक्रिया