सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरीको उम्मेदवारी : सुशासन र रोजगारी मुख्य एजेन्डा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०८२, बिहीबार ०६:५५

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट सुनसरी क्षेत्र नम्बर–२ मा रामकुमारी चौधरी उम्मेदवार बनेकी छन् । २०७४ सालमा समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भई कृषि, भूमि व्यवस्थापन तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी चौधरी यसपटक प्रत्यक्ष निर्वाचनमार्फत संसद् पुग्ने तयारीमा छन् ।

महिला, युवा र सिमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने नेतृका रूपमा चिनिएकी उनी सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी सिर्जनालाई आफ्नो मुख्य एजेन्डा बताउँछिन् । सुनसरी–२ मा मतदाताको उत्साहजनक समर्थन पाएको दाबी गर्दै उनले यस निर्वाचनलाई विचार र व्यक्तित्वको मूल्यांकन गर्ने अवसरका रूपमा लिन आग्रह गरेकी छन् ।

‘बेथिति अन्त्यका लागि उम्मेदवारी’

सुनसरी–२ मा उम्मेदवारी किन भन्ने प्रश्नमा चौधरी भन्छिन्, “देशमा बढ्दो बेथिति र भ्रष्टाचार अन्त्य गर्न मेरो उम्मेदवारी हो ।” सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने, युवा नेतृत्व विकास गर्न प्रेरित गर्ने र पछाडि पारिँदै आएको महिला नेतृत्वलाई अघि बढाउने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ ।

महिलाको योगदान, योजना र क्षमतालाई राज्यका नीति निर्माण तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै उनले समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कानुन सुधार पहिलो प्राथमिकता

प्रतिनिधि सभामा पुगेपछि आफ्नो पहिलो प्राथमिकता कानुन निर्माण र सुधार हुने उनले बताइन् । “संसद् भनेको कानुन बनाउने सर्वोच्च थलो हो । विद्यमान कानुनमा रहेका त्रुटि सच्याउन आवश्यक छ,” उनले भनिन् ।

संविधानले दिएका धेरै अधिकार अझै ऐनमार्फत कार्यान्वयन हुन बाँकी रहेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय तहबीच देखिएका कानुनी समस्या समाधान गरी समन्वय मजबुत बनाउने कानुन निर्माणमा विशेष जोड दिने बताइन् । प्रदेश र स्थानीय तह बलियो बने मात्रै संघीयता सफल हुने उनको विश्वास छ ।

मतदाताबाट उत्साहजनक प्रतिक्रिया

मतदातासँग भेटघाट गर्दा सकारात्मक प्रतिक्रिया पाएको उनले दाबी गरिन् । “अहिले मतदाताले पार्टीभन्दा पनि व्यक्तिको मूल्यांकन गरिरहेका छन्,” उनले भनिन् । स्थानीय बासिन्दाले आफूलाई छोरी–चेलीका रूपमा सम्मान गर्दै समर्थन गरिरहेको उनको दाबी छ ।

थारु समुदायबाट प्रतिनिधित्व गरे पनि आफू सबै समुदायका लागि काम गर्ने उम्मेदवार भएको उनले बताइन् ।

थारु समुदायका मुद्दा पनि प्राथमिकतामा

थारु समुदायको भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहने उनले स्पष्ट पारिन् । साथै राजनीतिक, प्रशासनिक र सुरक्षा निकायमा थारु समुदायको प्रतिनिधित्व बढाउन पहल गर्ने प्रतिबद्धता जनाइन् ।

‘जित सुनिश्चित’ दाबी

सुनसरी–२ मा करिब १ लाख ५८ हजार मतदाता रहेको उल्लेख गर्दै उनले करिब १ लाख मत खस्ने अनुमान गरिन् । पार्टीको स्पष्ट एजेन्डा र आफ्नो राजनीतिक अनुभवका आधारमा जित सुनिश्चित हुने विश्वास व्यक्त गरिन् ।

‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकी चौधरीले युवा, महिला र सिमान्तकृत समुदायको आवाज प्रतिनिधि सभामा सशक्त रूपमा उठाउने प्रतिबद्धता दोहोर्‍याइन् ।

प्रतिक्रिया

Leave a Reply