काठमाडौँ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्य पदबाट पदमुक्त भएका छन्।
शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आवद्ध भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो। उक्त निर्णयबारे नेकपाले प्रदेश सभालाई औपचारिक जानकारी गराएको थियो।
नेकपा संसदीय दलको निर्णयका आधारमा कर्णाली प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै शर्मा सांसद पदबाट पदमुक्त भएको जनाएको छ। सचिव **जीवराज बुढाथोकी**द्वारा जारी सूचनामा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ उपदफा (१) अनुसार पार्टीबाट निष्कासन गरिएको पत्र प्रदेश सभामा दर्ता भएपछि सम्बन्धित सदस्य स्वतः पदमुक्त हुने व्यवस्था रहेको उल्लेख गरिएको छ।
शर्मा २०७९ सालको प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट रुकुम पश्चिम १ (ख) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। उनले उक्त निर्वाचनमा २० हजार १६० मत प्राप्त गरेका थिए।
उनी २०७९ पुस २७ देखि २०८० चैत २१ गतेसम्म कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा रहे। ४० सदस्यीय कर्णाली प्रदेश सभामा उनको पदमुक्तिसँगै अब सदस्य संख्या ३९ पुगेको छ।
प्रतिक्रिया