नुवाकोट। नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।
सूर्यगढी गाउँपालिका–४ निवासी पूर्व राष्ट्रिय फुटबल खेलाडी विक्रम गुरुङको नेतृत्वमा विभिन्न वडाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेस सुर्यगढी गाउँपालिका सभापति शंकर बहादुर प्याकुरेल तथा पार्टीका विभिन्न तह र तप्काका नेताहरूको विशेष पहल रहेको जनाइएको छ।
नवप्रवेशीहरूलाई स्वागत गर्दै नेपाली कांग्रेसका नेता तथा नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार **प्रकाश शरण महत**ले पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। कार्यक्रममा बोल्दै महतले भने,
“देश र लोकतन्त्रलाई सुदृढ बनाउन नेपाली कांग्रेसलाई अझ सशक्त बनाउनु आवश्यक छ। सुर्यगढीका साथीहरूले देखाएको विश्वास र समर्थनले हामीलाई थप जिम्मेवार बनाएको छ। अब विकास, सुशासन र समृद्धिको एजेन्डालाई लिएर हामी एकताबद्ध भएर अघि बढ्छौँ।”
उनले खेलकुद क्षेत्रबाट चिनिएका विक्रम गुरुङसहितको टोली कांग्रेसमा प्रवेश गर्नु सकारात्मक संकेत भएको उल्लेख गर्दै युवाशक्तिलाई साथ लिएर आगामी निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे।
सभापति प्याकुरेलले पनि स्थानीय तहमा कांग्रेसको संगठन विस्तार र जनतासँगको सम्बन्ध सुदृढ बनाउने अभियानलाई तीव्र बनाइएको जानकारी दिए।
कार्यक्रममा नवप्रवेशीहरूले देशमा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र विकासका लागि नेपाली कांग्रेस रोजेको बताएका थिए।
प्रतिक्रिया