काठमाडौं
रिपोर्ट: विशेष संवाददाता
सिन्धुपाल्चोकको विकट गाउँ कल्लेरीबाट सुरु भएको एक संघर्षपूर्ण जीवनयात्रा आज नेपाली उद्यमशीलताको शक्तिशाली प्रतीक बनेको छ।
सामान्य परिवारमा जन्मिएका सुशिल मोक्तानले भोक, अभाव, अपमान र अस्वीकारलाई आफ्नो भाग्य मान्नुभएन—त्यसलाई ऊर्जा बनाएर इतिहास लेख्ने बाटो रोजे।
बाल्यकालदेखि नै दुःख, श्रम र जिम्मेवारीले घेरिएको जीवन। विद्यालय जानु अघि घरका सबै काम, जीविकाका लागि सानै उमेरमा श्रम, आत्मसम्मानको अभाव—यी सबै उनका लागि सामान्य दिनचर्या थिए। तर उनको सपना असामान्य थियो—“आफैं उभिने, अरूलाई उभ्याउने।”
वि.सं. २०७७ साल, देश कोरोना महामारीले ठप्प थियो। धेरै उद्योग बन्द भइरहेका थिए, मानिसहरू बेरोजगार हुँदै थिए। त्यही अन्धकारमा सुशिलले उज्यालो देखे। उनले “खुशी इन्डस्ट्रीज नेपाल प्रा.लि.” स्थापना गर्दै स्वदेशी उत्पादनको अभियान सुरु गरे। त्यसैअन्तर्गत जन्मियो — “माईती डिश वास लिक्विड”।
विदेशी ब्रान्डले भरिएको बजारमा नेपाली उत्पादनलाई स्थापित गर्नु चुनौती मात्र होइन, जोखिम पनि थियो। सुरुका दिनहरू अत्यन्तै पीडादायी रहे। कतिपय पसलले उत्पादन राख्न अस्वीकार गरे, एक पसलमा त उनको उत्पादन फालिएको घटना भयो — जुन उनको जीवनको सबैभन्दा ठूलो अपमान बन्यो। त्यो दिन उनी तीन दिनसम्म घरमै थुनिए। तर चौथो दिन उनले हार होइन, नयाँ रणनीति रोजे।
पसलले ढोका बन्द गरेपछि उनले जनताको ढोका ढकढक्याए। घर–घर, होटल–होटल पुगेर नि:शुल्क भाँडा माझ्दै आफ्नो उत्पादनको गुणस्तर प्रमाणित गर्न थाले। उनले उत्पादन बेचेन् — विश्वास बेचे।
आज “माईती डिश वास लिक्विड” काठमाडौं उपत्यकाका हजारौं घरको रोजाइ बनेको छ। किफायती मूल्य, उच्च गुणस्तर, र खाली कन्टेनर फिर्ता गर्दा नगद प्रोत्साहन दिने अभिनव योजनाले यसलाई अझ लोकप्रिय बनाएको छ।
सुशिलको सपना केवल व्यापार होइन — ५०० भन्दा बढी नेपालीलाई रोजगारी दिने, स्वदेशी ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने, र “नेपाली उत्पादन, नेपालीको गर्व” भन्ने भावना स्थापित गर्ने हो।
उनको स्पष्ट विश्वास छ — “असफलता अन्त्य होइन, सफलताको प्रशिक्षण हो।” “सङ्कल्प होइन, दृढ सङ्कल्पले इतिहास बनाउँछ।” युवाहरूका लागि उनको सन्देश शक्तिशाली छ: “जागिरको प्रतीक्षा नगर्नुहोस्, अवसर सिर्जना गर्नुहोस्। हार मान्नु भनेको सपना मार्नु हो।”
सुशिल मोक्तानको कथा एउटा व्यवसायको मात्र कथा होइन — यो पुनर्जन्मको कथा हो। यो आत्मविश्वासको क्रान्ति हो। यो नेपाली युवाको सम्भावनाको प्रमाण हो। उनको जीवनले हरेक युवालाई भन्छ — “सपना ठूलो देख्नुहोस्, संघर्षलाई स्वीकार्नुहोस्, सफलता तपाईंलाई खोज्दै आउनेछ।”
प्रतिक्रिया