काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ क्षेत्र नं. २ मा चुनावी माहोल तीव्र बन्दै गएको छ। यसैक्रममा उम्मेदवार कबिर शर्माले शंखरापुर, नाङ्लेभारे, साँखु लगायतका क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। स्थानीय बासिन्दासँगको प्रत्यक्ष संवाद र भावनात्मक सम्बोधनका कारण उनको चुनावी अभियानले विशेष चर्चा बटुलेको छ।
शंखरापुर, नाङ्लेभारे र साँखुका चोक–गल्लीमा पुग्दै कबिर शर्माले भने, “यी ठाउँहरू मेरा लागि चुनावी नक्साका भूगोल मात्र होइनन्, यी त मेरो मन–मुटुमा बसेका क्षेत्र हुन्। म यहाँ भोट माग्न मात्र आएको होइन, यहाँका हरेक सुख–दुःखसँग मेरो पुरानो नाता छ।”
उनले थपे, “चुनावी माहोल आउँछ र जान्छ, तर यो माटोसँगको मेरो सम्बन्ध कहिल्यै फेरिने छैन। हिजो शुभचिन्तकको रूपमा समस्या सुन्थेँ, भोलि सेवकको रूपमा समाधान गर्न आउनेछु। तपाईँहरूले देखाउनुभएको भरोसालाई कहिल्यै टुट्न दिने छैन।”
काठमाडौँ–२ का स्थानीयहरूबीच यतिबेला एउटै स्वर सुनिन थालेको छ— “अबको पालो युवाको, अबको पालो विकासको!” वडा नं. ९ सहितका विभिन्न स्थानमा भएको घरदैलो कार्यक्रममा स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको थियो।
स्थानीय बासिन्दाहरूले क्षेत्रको अव्यवस्थित पूर्वाधार, ट्राफिक समस्या र सम्पदा संरक्षणका विषयलाई प्राथमिक मुद्दाका रूपमा उठाउँदै आएका छन्। यसबारे प्रतिक्रिया दिँदै कबिर शर्माले स्पष्ट प्रतिबद्धता जनाए, “व्यवस्थित पूर्वाधार विकास, प्रभावकारी ट्राफिक व्यवस्थापन र हाम्रो ऐतिहासिक सम्पदाको संरक्षण मेरो पहिलो प्राथमिकता हो। काठमाडौँ–२ को समृद्धिको स्पष्ट मार्गचित्र लिएर म जनतामाझ आएको छु।”
घरदैलो कार्यक्रममा देखिएको उत्साहप्रति आभार व्यक्त गर्दै उनले भने, “वडा नं. ९ का सम्पूर्ण बासिन्दालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईंहरूले देखाउनुभएको स्वःस्फूर्त समर्थनले मलाई अझ जिम्मेवार बनाएको छ।”
निर्वाचनको मिति नजिकिँदै जाँदा काठमाडौँ–२ मा युवा नेतृत्वप्रति आकर्षण बढ्दो देखिएको छ। स्थानीयस्तरमा देखिएको समर्थन र सक्रिय चुनावी अभियानका आधारमा उम्मेदवार कबिर शर्माले बलियो उपस्थिति बनाउँदै लगेका छन्।
उनले अन्त्यमा भने, “फागुन २१ गते हामी सबै मिलेर काठमाडौँ–२ मा नयाँ इतिहास रच्नेछौँ।”
प्रतिक्रिया