काठमाडौँ । निर्वाचन सुरक्षालाई लक्षित गर्दै सरकारले सातवटै प्रदेशमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का थप सुरक्षा टोली परिचालन गरेको छ । गृह मन्त्रालय ले दुवै प्रहरी प्रधान कार्यालयबाट डीएसपीदेखि एसएसपीसम्मको नेतृत्वमा टोली खटाएको जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि यसअघि नै तैनाथ सुरक्षाकर्मीका अतिरिक्त थप टोली खटाइएको हो । उनीहरूलाई मतदान प्रक्रिया सम्पन्न नभएसम्म कार्यक्षेत्रमै रहन निर्देशन दिइएको छ ।
सरकारले ‘एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२’ को प्रभावकारी कार्यान्वयनका लागि खटिएका टोलीलाई सुरक्षा अवस्थाको विश्लेषण, अनुगमन तथा नियमन, फिल्डमा देखिएका चुनौतीको पहिचान र सुधारका उपायसहित केन्द्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । साथै स्थानीय तह र प्रदेश संयन्त्रसँग समन्वय गरी काम गर्न पनि भनिएको छ ।
सशस्त्र प्रहरीले एसएसपीको नेतृत्वमा २३ छुट्टाछुट्टै टोली परिचालन गरेको छ । प्रत्येक टोलीलाई तीनदेखि चार जिल्ला हेर्ने जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।
त्यसैगरी, प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लामा एसपी/डीएसपी नेतृत्वमा अलग–अलग टोली खटाएको छ । सुरक्षा दृष्टिकोणबाट संवेदनशील तथा अतिसंवेदनशील मानिएका क्षेत्रमा तीनवटासम्म केन्द्रीय टोली र अन्य क्षेत्रमा एक–एक टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
मधेश प्रदेशको सुरक्षा अवस्था र सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही दिनका लागि कार्य विभागका एआईजी उमाप्रसाद चतुर्वेदीलाई पनि खटाइएको छ ।
गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार केन्द्रबाट खटिएका सुरक्षाकर्मीलाई मतदान सकिएपछि मात्रै फिर्ता बोलाइनेछ । उनले भनिन्, “खटिएका सुरक्षाकर्मीले जिल्ला र प्रदेशस्थित आफ्ना संयन्त्रमार्फत आवश्यक समन्वय गरी सुरक्षा व्यवस्था सुदृढ बनाउनेछन् ।”













प्रतिक्रिया