धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४ यार्सामा आफ्नै बुबाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय सुजन सुनार रहेका छन्। उनीमाथि आफ्नै ६० वर्षीय बुबा धन नारायण सुनारमाथि फलामको रड प्रहार गरी हत्या गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार सुजनले फलामको रडले आक्रमण गर्दा धन नारायण गम्भीर घाइते भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै सुजनलाई नियन्त्रणमा लिएको थियो।
गम्भीर घाइते भएका धन नारायणलाई तत्काल ग्रामीण अस्पताल फुलखर्क लगेर उपचार गरिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सुजनमाथि कर्तव्य ज्यान सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रतिक्रिया