काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा तथा आगामी कार्ययोजना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत, नगर कार्यपालिका सदस्य, १३ वटै वडाका जनप्रतिनिधि तथा नगरपालिकाका विभिन्न शाखा–महाशाखाका कर्मचारीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाले सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह, सामाजिक विकास, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, रोजगारलगायत विभिन्न क्षेत्रका कार्यक्रम तथा गतिविधिको प्रगति र उपलब्धिबारे समीक्षा गरिएको थियो।
त्यसैगरी, नगरपालिकाका १३ वटै वडा कार्यालय तथा विभिन्न शाखा–महाशाखाले प्रस्तुत गरेका प्रगति विवरणमाथि छलफल गर्दै आगामी आर्थिक वर्षमा सञ्चालन गरिने योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत सुझाव तथा कार्ययोजना प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमको नियमित समीक्षा गर्दै उपलब्धि र कमजोरी पहिचान गरी आगामी योजना निर्माण गर्नुपर्नेमा जोड दिए। उनले विकास निर्माणसँगै नगरवासीले प्रत्यक्ष अनुभूति गर्ने गरी गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
नगरपालिकाले तय गरेका योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्ने, बजेटको प्रभावकारी उपयोग गर्ने र विकास निर्माणका कामलाई परिणाममुखी बनाउने विषयमा जनप्रतिनिधि तथा कर्मचारीबीच थप समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
उपप्रमुख अनिता लामाले नगरपालिकाका योजना तथा कार्यक्रम कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय हुनुपर्ने बताइन्। विगतका कार्यक्रमको प्रगति समीक्षा गर्दै आगामी योजनालाई अझ व्यवस्थित र आवश्यकतामा आधारित बनाउनुपर्ने उनको भनाइ थियो।
उनले नगरवासीका आवश्यकता तथा प्राथमिकतालाई केन्द्रमा राखेर योजना निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा नगरपालिकाका १३ वटै वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गरेका काम, उपलब्धि तथा चुनौतीबारे जानकारी गराएका थिए। वडा तहबाट सञ्चालन भएका विकास निर्माण तथा सेवा प्रवाहका गतिविधिको समीक्षा गर्दै आगामी वर्षका प्राथमिकता तथा योजनामाथि छलफल गरिएको थियो।
त्यस्तै, नगरपालिकाका विभिन्न शाखा तथा महाशाखाले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत सम्पन्न गरेका कार्यक्रम, खर्च तथा उपलब्धि र आगामी कार्ययोजनाबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा प्रस्तुत प्रगति विवरणका आधारमा आगामी दिनमा देखिएका समस्या समाधान गर्ने, सेवा प्रवाहमा सुधार ल्याउने तथा योजना कार्यान्वयनको गति बढाउने विषयमा छलफल भएको थियो।
कार्यक्रममा नगरपालिकाको समग्र कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित, पारदर्शी तथा परिणाममुखी बनाउने विषयमा विशेष जोड दिइएको थियो।
आगामी आर्थिक वर्षमा नगरवासीका आवश्यकता र प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम सञ्चालन गर्ने, विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्ने तथा सार्वजनिक सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिने बताइएको छ।
कार्यक्रमले विगत आर्थिक वर्षको कामको समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि नीति, योजना, कार्यक्रम र कार्यान्वयनबीच थप प्रभावकारी समन्वय कायम गर्ने आधार तयार गरेको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया