त्रिभुवन विमानस्थल अध्यागमनमा अब अनिवार्य ढाका टोपी, गृहमन्त्री गुरुङको निर्देशनपछि कार्यान्वयन सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ असार २०८३, सोमबार ०५:१६

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूले अनिवार्य रूपमा नेपाली ढाका टोपी लगाउन सुरु गरेका छन्। नेपाली मौलिकता, राष्ट्रिय पहिचान र सांस्कृतिक छविलाई प्रवर्द्धन गर्ने उद्देश्यले गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

शुक्रबार विमानस्थल अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा पुगेका गृहमन्त्री गुरुङले अध्यागमनमा कार्यरत सबै कर्मचारीलाई ढाका टोपी लगाएर सेवामा उपस्थित हुन निर्देशन दिएका थिए।

विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी अनुज भण्डारीका अनुसार नेपाल प्रवेश गर्ने विदेशी पर्यटकले सबैभन्दा पहिले अध्यागमन कार्यालयका कर्मचारीसँग नै भेट गर्ने भएकाले उनीहरूको पोसाक, व्यवहार र सेवा नै नेपालको पहिलो छाप बन्ने गर्दछ।

“नेपाल आउने पर्यटकले पहिलो पटक अध्यागमनका कर्मचारीलाई नै देख्छन्। त्यसैले उनीहरूको पोसाक र प्रस्तुतिबाट नेपाली मौलिकता, संस्कृति र राष्ट्रिय पहिचान झल्किनुपर्छ भन्ने उद्देश्यले माननीय गृहमन्त्रीज्यूले ढाका टोपी अनिवार्य लगाउन निर्देशन दिनुभएको हो,” सूचना अधिकारी भण्डारीले बताए।

मन्त्री गुरुङको निर्देशन लगत्तै शनिबारदेखि केही कर्मचारीले ढाका टोपी लगाउन सुरु गरेका थिए। आइतबारसम्म आइपुग्दा भने कार्यालयका अधिकांश कर्मचारी नेपाली ढाका टोपीसहित सेवामा खटिन थालेको अध्यागमन कार्यालयले जनाएको छ।

गृह मन्त्रालयले यो कदमलाई केवल पोसाक परिवर्तनका रूपमा नभई नेपालको सांस्कृतिक पहिचान, आतिथ्यता र राष्ट्रिय गौरवलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष सकारात्मक रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा लिएको जनाएको छ। साथै, अध्यागमन सेवामा थप अनुशासन, व्यावसायिकता र सेवाग्राहीमैत्री वातावरण विकास गर्न पनि यस्ता सुधारका कार्यक्रमलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

 

 

slot gacor