काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै निकायलाई पूर्ण तयारीका साथ परिचालित हुन निर्देशन दिएकी छन्।
लुम्बिनी प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा बोल्दै उनले निर्वाचन सफल बनाउनु राज्यका सबै संयन्त्रको साझा दायित्व भएको उल्लेख गरिन्। बैठकपछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रधानमन्त्रीको निर्देशनबारे जानकारी दिएका हुन्।
बुटवलस्थित मध्यपश्चिम पृतना मुख्यालयमा आयोजित एकीकृत सुरक्षा बैठकमा प्रदेशभर निर्वाचन तयारी, सुरक्षा प्रबन्ध र सम्भावित चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो।
जिल्ला सुरक्षा समितिलाई स्थानीय चुनौती पहिचान गरी सोहीअनुसार रणनीति तयार पारेर कार्यान्वयन गर्न निर्देशन दिइएको प्रमुख सचिव काप्रीले बताए। मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको समन्वित सुरक्षा योजनाअनुसार परिचालन गरिने जनाइएको छ।
प्रदेशका १२ वटै जिल्लाबाट तयार पारिएका सुरक्षा योजनाबारे प्रधानमन्त्रीसमक्ष जानकारी प्रस्तुत गरिएको थियो। बैठकमा सुरक्षा निकायका उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो।
तराई क्षेत्रमा खुला सीमाना प्रमुख चुनौतीका रूपमा रहेको विषयमा विशेष छलफल भएको बताइएको छ। पश्चिम नवलपरासीदेखि बर्दियासम्म करिब ४१४ किलोमिटर खुला सीमा रहेको उल्लेख गरिएको छ। हिमाली जिल्ला रुकुमपूर्वमा सञ्चार पहुँच, सूचना सङ्कलन र भौगोलिक कठिनाइलाई ध्यानमा राखेर तयारी अघि बढाइने जानकारी दिइएको छ।
प्रधानमन्त्रीको निर्देशनपछि निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न थप प्रतिबद्धताका साथ सुरक्षा संयन्त्र परिचालित हुने प्रमुख सचिव काप्रीले बताएका छन्।













प्रतिक्रिया