काठमाडौं । कवि सपना लामिछानेद्वारा लिखित कविताकृति ‘जिन्दगी एक यात्रा’ माथिको परिचर्चा तथा ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ समर्पण समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । साहित्य, कला र सम्मानको समिश्रण बनेको उक्त कार्यक्रम गरिमामय, सुसंस्कृत र स्मरणीय बनेको आयोजकले जनाएको छ ।
समारोहकै अवसरमा ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’बाट वरिष्ठ गायक आनन्द कार्कीलाई सम्मान गरिएको थियो । उहाँलाई हार्दिक बधाई व्यक्त गर्दै आयोजकले उहाँको गरिमामय उपस्थितिप्रति आभार प्रकट गरेको छ।
स्रष्टा पदयात्रा नेपालका महासचिव गंगा प्रसाद भेटवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्घाटन गर्दै प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँको उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको अध्यक्ष भेटुवालले उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग र्पुयाउने सम्पूर्ण महानुभावहरूप्रति आयोजक संस्था सूचक प्रकाशन परिवारका अध्यक्ष दीपक भेटुवाल (दीपसागर)ले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
समारोहमा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कृतिमाथि गहन समीक्षा प्रस्तुत गर्दै ‘जिन्दगी एक यात्रा’लाई समकालीन जीवनदर्शनको मार्मिक अभिव्यक्ति भएको बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिदै गीतकार संघ नेपालका पूर्व अध्यक्ष चुडामणि देवकोटा, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले जीवनमा साहित्यले पार्ने प्रभाव को बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा १२ खरीका पत्रकार राजेश खनाल, बौद्ध अध्येता एवं सम्यक् सन्देशका सल्लाहकार श्यामलाल चित्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वर्गीय क्याप्टेन रतन बहादुर लामिछानेका सुपुत्रीहरू रचयिता लामिछाने र रीति लामिछाने तथा सुपुत्र स्वस्तिक लामिछानेको आत्मीय उपस्थिति र सहयोगप्रति पनि आयोजक बाट विशेष आभार व्यक्त गरिएको छ ।
कार्यक्रम व्यवस्थापनमासहयोग र्पुयाउने गंगा खतिवडा र अप्सरा केसीलाई आयोजकबाट विशेष धन्यवाद दिइएको छ । त्यस्तै पत्रकार जयराम बिडारी, पत्रकार डिबि पराजुली तथा कुशल कार्यक्रम सञ्चालक नवीन पल्लवको योगदानलाई उच्च सम्मान गरिएको आयोजकले जनाएको छ ।
आफ्नो बहुमूल्य समय निकालेर कार्यक्रममा उपस्थित भई कला, साहित्य, सिर्जना र सम्मानको यो गरिमामय क्षणलाई सार्थक बनाइदिने सम्पूर्ण साहित्यप्रेमी, शुभेच्छुक तथा सञ्चारकर्मी मित्रहरूप्रति अध्यक्ष दीपक भेटुवाल (दीपसागर)ले हृदयदेखि नै धन्यवाद व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया