गृहमन्त्री अर्यालद्वारा मतदातालाई निर्वाचनमा सहभागिताको आह्वान, सुरक्षा तयारी पूरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०८२, शुक्रबार ०६:५७

काठमाडौँ।  गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध पूरा भइसकेको बताउँदै मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदानमा सहभागी हुन आह्वान गरेका छन्।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन तोकिएकै मितिमा चुस्त, भरपर्दो र व्यवस्थित सुरक्षा व्यवस्थासहित सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका हुन्। बैठकमा तीनवटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले सुरक्षा प्रबन्ध तथा जिल्लागत रणनीति कार्यान्वयन भइरहेको जानकारी गराएका थिए।

गृहमन्त्रीको सचिवालयका अनुसार, बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीति कार्यान्वयन, सातवटै प्रदेशका प्रमुख सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित सुरक्षा तयारीबारे विस्तृत छलफल गरिएको थियो।

अर्यालले मतदातालाई भने, “निर्वाचनमा भाग लिन डर वा त्रासको आवश्यकता छैन, सबै सुरक्षा व्यवस्था सुनिश्चित गरिएको छ। मतदाताले आफ्नो अधिकारको प्रयोग गरून् र लोकतन्त्रलाई सशक्त बनाऊन्।”

निर्वाचन सफल, शान्तिपूर्ण र निष्पक्ष बनाउन सम्बन्धित सबै निकायले समन्वय र सहयोग गर्दै काम गरिरहेको गृहमन्त्रीले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply