काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको बताएकी छन्।
७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न हुने सुनिश्चित भएको दाबी गरिन्।
प्रधानमन्त्री कार्कीले वि.सं. २०१५ फागुन ७ गतेदेखि सुरु भएको नेपालको निर्वाचन इतिहासको स्मरण गर्दै वर्तमान सरकारले निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगमा प्रवेश गराउने प्रतिबद्धता व्यक्त गरिन्।
“निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, परिणाममुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास लिएकी छु,” उनले भनिन्, “संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबै एकजुट हुन आवश्यक छ।”
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको जेन–जी युवाहरूको आन्दोलनलाई राज्यले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै युवाको ऊर्जा र नैतिक आक्रोशलाई दमन गरेर नभई सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्ने बताइन्। “हाम्रा युवा अभाव सहन तयार छन् तर अन्याय, अपमान र तिरस्कार सहन तयार छैनन्,” उनले भनिन्।
सम्बोधनका क्रममा उनले जहानियाँ राणा शासनविरुद्ध ज्यान उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्। साथै बुद्धिजीवी, नागरिक समाज र युवा समुदायलाई समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि हातेमालो गर्न अपिल गरिन्।













प्रतिक्रिया