निर्वाचन आयोगको चेतावनी : प्रविधिको दुरुपयोगले निर्वाचन निष्पक्षतामा जोखिम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०८२, बुधबार ०७:०९

काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम औँल्याउँदै यसतर्फ गम्भीर बन्न सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

आयोगले सामाजिक सञ्जालमार्फत गलत सूचना सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गर्न आम सञ्चारमाध्यमलगायत सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोगबाट सृजना गरिएका दिग्भ्रमित सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचन प्रक्रियालाई मर्यादित बनाउन आग्रह गरे। उनले मतदानअघि मतदाताको धारणा वा कुराकानीलाई आधार बनाएर हार–जीतको अनुमान गर्ने तथा मत सर्वेक्षणको नतिजा सार्वजनिक नगर्न सञ्चारमाध्यमलाई सचेत गराए।

भण्डारीले भने, “हालैका केही अभ्यासहरूमा मतदान हुनुअघि नै मतदाताको कुराकानीलाई आधार बनाएर हार–जीतको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिएको छ। त्यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।”

आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ ले मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित पार्ने गतिविधि निषेध गरेको छ। मतदानअघि नै नतिजा घोषणा जस्तो देखिने सामग्री सार्वजनिक गर्दा उम्मेदवार हतोत्साही हुन सक्ने र निष्पक्ष प्रतिस्पर्धाको वातावरणमा असर पर्न सक्ने आयोगको भनाइ छ।

प्रविधिको तीव्र विकाससँगै एआईमार्फत सिर्जित भ्रामक सामग्री सामाजिक सञ्जालमा नफैलाउन आयोगले विशेष आग्रह दोहोर्‍याएको छ। प्रविधिले सूचना प्रवाह सहज बनाए पनि यसको दुरुपयोगले निर्वाचन प्रक्रियामा गम्भीर असर पार्न सक्ने जोखिमतर्फ आयोगले सचेत गराएको छ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी भएको आयोगको धारणा छ।

प्रतिक्रिया

Leave a Reply