ग्याल्पो ल्होसार आज मनाइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०८२, बुधबार ०७:०१

काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ लाग्ने यो पर्व शेर्पा समुदायको नयाँ वर्षका रूपमा मनाइन्छ।

पर्वको अवसरमा गाउँघर र टोलका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने परम्परा छ। नौ प्रकारका अन्न मिसाएर बनाइने परिकार ‘गुथुक’ र ‘खाप्से’ खाने तथा आपसमा शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्षको स्वागत गरिन्छ। यसलाई पारिवारिक तथा सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय तथा महायान बौद्ध परम्परा अनुयायीहरूले चन्द्रमासको गणनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदा तिथिदेखि नयाँ वर्ष सुरु हुने विश्वासका साथ यो पर्व मनाउने गर्छन्।

यस अवसरमा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ)को मधुर धुन र सामूहिक उल्लासले पर्वलाई अझ अर्थपूर्ण बनाउँछ। गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशीर्वाद लिने, डेशिल, गुथुक र खाप्सेजस्ता विशेष परिकारको स्वाद लिने र परिवारसँग उल्लासपूर्वक समय बिताउने चलन रहेको छ।

नयाँ आशा, उमङ्ग र उत्साह बोकेको यस पर्वले समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना सुदृढ बनाउने विश्वास गरिन्छ। साथै, परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने मान्यता छ।

प्रतिक्रिया

Leave a Reply