नेकपा (एमाले) अध्यक्ष ओलीद्वारा झापा–५ का लागि विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ फाल्गुन २०८२, बुधबार ०६:५५

काठमाडौं  ।  केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ को समग्र विकास र समृद्धिको खाका समेटिएको विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई आधार मानेर प्रतिबद्धता–पत्र सार्वजनिक गरेका हुन्।

सुशासन र स्थिरता प्राथमिकतामा

एमालेले भौतिक पूर्वाधार, कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। पार्टीले २००६ सालदेखिको इतिहास स्मरण गर्दै आफूलाई कम्युनिस्ट आन्दोलनको मूलधारका रूपमा प्रस्तुत गरेको छ।

देशमा व्याप्त राजनीतिक अस्थिरता अन्त्य गर्ने, सुशासन कायम गर्ने तथा भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रतिबद्धता पत्रमा उल्लेख छ। कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि कानुनी नियमनको आवश्यकता पनि औंल्याइएको छ।

पूर्वाधार विकासका ठूला योजना

झापा–५ अन्तर्गतका मुख्य सडक र पुल निर्माणलाई विशेष प्राथमिकता दिइएको छ। दमक–चिसापानी–रवि सडकखण्ड सम्पन्न गर्ने, पाडाजुँगी–गौरीगञ्ज–आल्ताबारी सडक स्तरोन्नति गर्ने तथा हुलाकी मार्गअन्तर्गत माई नदीमा निर्माणाधीन पुलको काम पूरा गर्ने लक्ष्य राखिएको छ।

रतुवा, मावा र कमल खोलामा तटबन्धन गरी नदी कटान नियन्त्रण गर्ने र पक्की पुल निर्माण गरी आवागमन सहज बनाउने योजना अघि सारिएको छ।

दमक र गौरादह ‘स्मार्ट सिटी’

दमकगौरादहलाई ‘स्मार्ट सिटी’का रूपमा विकास गर्दै व्यवस्थित बसोबास मिलाउने प्रतिबद्धता जनाइएको छ।

दमकमा निर्माणाधीन नेपाल–चीन मैत्री औद्योगिक पार्क सम्पन्न गरी रोजगारी सिर्जना गर्ने तथा दमक बिजनेस टावर सञ्चालनमा ल्याउने संकल्प गरिएको छ।

कृषि र रोजगारी

कृषि प्रधान क्षेत्र भएकाले कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिइएको छ। भूमिगत तथा सतह सिँचाइ आयोजना सञ्चालन गर्ने, जैविक मल कारखाना स्थापना गर्ने तथा शीतभण्डार निर्माण गर्ने योजना समेटिएको छ।

सामाजिक क्षेत्रका योजना

प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने, अधुरा खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्वास्थ्यतर्फ दमक, कमल र गौरादहका अस्पतालहरूको स्तरोन्नति तथा स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने योजना छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालय र क्याम्पसको भौतिक सुधार र गुणस्तर वृद्धिमा जोड दिइएको छ। खेलकुद विकासका लागि दमकमा मदन भण्डारी रङ्गशाला र कमलमा आदिवासी रङ्गशालालाई आधुनिक स्तरमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

भूमि र आवास समस्या समाधान

भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) उपलब्ध गराउने कार्यलाई तीव्रता दिने बताइएको छ। विपन्न तथा दलित समुदायका लागि सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ।

पर्यटन प्रवर्द्धन

सिमसार क्षेत्र, वाल्मीकि आश्रम, इन्द्रेणी ताल र गौरादह पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने तथा स्थानीय संस्कृति संरक्षण गर्ने योजना अघि सारिएको छ।

ओलीले झापा–५ लाई पूर्वी नेपालको नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply