काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने भएको छ।
सोमबार लामिछानेको मुद्दा फिर्तासम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालतले तत्काल मुद्दा फिर्ता नहुने आदेश दिएको हो। न्यायाधीश नितिश राईको एकल इजलासले उक्त आदेश जारी गरेको हो।
महान्यायाधिवक्ताको कार्यालयकी महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्। सो निर्णयका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीलाई परिपत्र गरिएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो। तर, यससम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट निर्णय भएपछि मात्रै फिर्तासम्बन्धी निवेदनमा टुंगो लगाइने आदेश अदालतले गरेको छ।
महान्यायाधिवक्ताको निर्णयविरुद्ध युवराज सफलले गत माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सुनुवाइका क्रममा महान्यायाधिवक्ता भण्डारीले मुद्दा दर्तापछि थप प्रमाण भेटिएकाले फिर्ता लिने निर्णय गरिएको जिकिर गरेकी थिइन्। त्यसपछि सर्वोच्चले थप प्रमाण पेश गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयले थप प्रमाण पेश गरेपछि सर्वोच्चमा पुनः सुनुवाइ हुनेछ। यसअघि जिल्ला अदालत, रुपन्देहीले पनि सर्वोच्चबाट मुद्दाको छिनोफानो भएपछि मात्रै फिर्ता निवेदनमाथि निर्णय गर्ने आदेश दिएको थियो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ। त्यस्तै, उनीविरुद्ध चितवन र काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा विचाराधीन रहेका छन्।
प्रतिक्रिया