रूकुमबाट विकास र समृद्धिको अभियान अघि बढाइने : प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०८२, मंगलवार ०६:४६

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको झण्डा उठाइएको रूकुमबाट अब विकास, निर्माण र समृद्धिको अभियान अघि बढाइने बताएका छन्।

पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले दलित समुदायको उल्लेख्य बसोबास रहेको उक्त क्षेत्रमा दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याइने जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचनमा रूकुम पश्चिमबाट उम्मेदवार रहेका उनले दलित समुदायको समग्र विकासका लागि शक्तिशाली प्राधिकरण गठन गर्ने घोषणा गरे।

‘हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौं,’ उनले भने, ‘म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौं । सरकार ढलेपछि त्यो काम अगाडि बढेन। म यहाँको उम्मेदवार भएपछि दलित समुदायको विकासका लागि आफू पुरै शक्ति लगाउने प्रतिबद्धता जनाउँछु ।’

उनका अनुसार दलित बाहुल्य क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा विकास गरी विशेष अधिकार सुनिश्चित गर्न पहल गरिनेछ। साथै, रूकुम पूर्वलाई सडक सञ्जालसँग प्रभावकारी रूपमा जोड्ने योजनामा पनि प्राथमिकता दिइने उनले बताए।

‘हामी तकसेरा हुँदै शहीद मार्गबाट आएका छौं । त्यसको स्तरउन्नति गर्ने । तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्ड छिचोलेर आवतजावत सहज बनाउनेतिर मेरो ध्यान रहनेछ,’ उनले भने। निर्वाचित भएपछि उक्त सडक बेनीसम्म विस्तार गरी स्थानीयलाई सहज सुविधा उपलब्ध गराउने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply