काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन तथा एकीकृत निर्देशनविपरीत काम गरेको आरोपमा तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ।
कारबाहीमा पर्ने बैंकहरूमा एनआइसी एसिया बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेका छन्।
एनआइसी एसिया बैंकमा जरिवाना
राष्ट्र बैंकका अनुसार एनआइसी एसिया बैंकले बारम्बार निर्देशन उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको र जारी गरिएको लिखित आदेशको पालना नगरेको पाइएको छ। त्यसका आधारमा बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २ (ग) बमोजिम जनही दुई लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।
ग्लोबल आइएमई बैंकलाई सचेत
ग्लोबल आइएमई बैंकको स्थलगत निरीक्षण प्रतिवेदन–२०८२ का आधारमा कैफियत देखिएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ। बैंकले एकीकृत निर्देशन, २०८१ अनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा कर्जाको पुनर्तालिकीकरण र पुनरसंरचनासम्बन्धी व्यवस्था पूर्णरूपमा पालना नगरेको राष्ट्र बैंकले जनाएको छ।
निरीक्षणका क्रममा ‘कोर बैंकिङ सफ्टवेयर’मा चुक्ता भइसकेको कर्जालाई पुरानै ‘भ्यालु डेट’मा राखी पुनः सिर्जना गर्न सक्ने अवस्था रहेको पनि पाइएको जनाइएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई चेतावनी
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले निर्देशनविपरीत कर्जासम्बन्धी कागजातमा ग्राहकको सहीछाप नगराएको, सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको र एउटै प्रकृतिका कर्जामा दुई प्रतिशत विन्दुभन्दा बढी ब्याजदर अन्तर कायम गरेको पाइएको छ।
साथै चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ को प्रावधानविपरीत त्रैमासको अन्तिम महिनामा नयाँ अल्पकालीन कर्जा प्रवाह गरेको आरोपमा बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा गरिएको कारबाहीको विवरण सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थालाई निर्देशनको पूर्ण पालना गर्न पुनः सचेत गराएको छ।














प्रतिक्रिया