काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १, गागलमा निर्माण सम्पन्न भएको श्री पेमा होईसाललिङ गुम्बा बुधबार भव्य समारोहका बीच उद्घाटन गरिएको छ।
गुम्बाभित्र निर्माण गरिएको भगवान गौतम बुद्धको मूर्तिको अनावरण गरिएको थियो भने गुम्बा भवनको उद्घाटन नगर प्रमुख उपेन्द्र कार्कीले गर्नुभएको थियो। उद्घाटनसँगै मूर्ति प्राण प्रतिष्ठा (राभ्ने पूजा) समेत सम्पन्न गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले उक्त क्षेत्रमा तामाङ समुदायको इतिहास, भाषा, संस्कृति र परम्परा संरक्षणका लागि तामाङ संग्रहालय भवन निर्माण गर्ने आफ्नो इच्छा रहेको उल्लेख गर्नुभयो। उहाँले यही कार्यकालभित्र संग्रहालय भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक व्यक्तित्व तथा समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रतिक्रिया