काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ गरेर ढुवानीको तयारी अवस्थामा राखेको जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भइसकेको छ। बाँकी १० जिल्लाको मतपत्र छपाइ सम्पन्न भए पनि प्याकिङ कार्य बाँकी रहेको छ। अब ११ लाख ९९ हजार मतपत्र मात्र छाप्न बाँकी रहेको उनले जानकारी दिए।
हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ, मकवानपुर, चितवन र सिराहा गरी ६७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो।
हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस २६ गतेदेखि छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको थियो। प्रत्यक्षतर्फ भने दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ। माघ १६ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको हो।
छपाइ सम्पन्न भएका मतपत्र गत शुक्रबारदेखि पठाउन थालिएको छ। पहिलो चरणमा कर्णाली प्रदेशमा पठाइएको थियो भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा समेत मतपत्र ढुवानी गरिएको छ। सहरी तथा सुगम जिल्लामा भने मतपत्र पठाउन बाँकी रहेको आयोगले जनाएको छ।
प्रतिक्रिया