पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, आज रातिदेखि लागू

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०८२, सोमबार ०६:४२

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल तथा डिजेल/मट्टीतेलको खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगम सञ्चालक समितिको मिति २०८२ फागुन ३ गते बसेको बैठकको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको हो।

नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ, दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १३९ रुपैयाँ, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ पुगेको छ।

यसअघि पेट्रोलको मूल्य क्रमशः १५३, १५४ र १५५ रुपैयाँ तथा डिजेल/मट्टीतेलको मूल्य १३६, १३८ र १३९ रुपैयाँ थियो।

निगमका अनुसार कार्यालय वा डिपोबाट १५ किलोमिटर दूरीका आधारमा देशलाई तीन वर्गमा विभाजन गरी मूल्य निर्धारण गरिएको हो। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन्।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि स्वचालित मूल्य प्रणालीअनुसार देशभित्र पनि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।

प्रतिक्रिया

slot gacor