काठमाडौं । विश्व हिन्दु युवा कलाकार संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिले कलाकारिता क्षेत्रका सक्रिय व्यक्तित्व बिजेन्द्र नौबागेलाई संघको कोषाध्यक्ष पदमा मनोनयन गरेको छ ।
काठमाडौंस्थित केन्द्रीय कार्यालयबाट जारी गरिएको मनोनयन पत्रअनुसार, लामो समयदेखि गीत–संगीत तथा कलाकारिता क्षेत्रमा र्पुयाउँदै आएको योगदानको कदर गर्दै उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको जनाइएको छ । संघले राष्ट्रियता, मानवता र विश्व शान्तिको भावनालाई आत्मसात गर्दै आराध्यदेव पशुपतिनाथलाई साक्षी राखेर संस्थाको सिद्धान्त बमोजिम मनोनयन गरिएको उल्लेख गरेको छ ।
संघद्वारा जारी पत्रमा ज्ञान र मानव सभ्यताको उद्गमस्थलका रूपमा चिनिने गोरक्षभूमि नेपाललाई विश्व शान्तिको सन्देशवाहक तथा पुनः विश्वगुरु राष्ट्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ संस्था क्रियाशील रहेको उल्लेख छ । सोही उद्देश्य प्राप्तिका लागि मन, वचन र कर्मले योगदान गर्ने प्रतिबद्धतासहित विजेन्द्र नौबागेलाई कोषाध्यक्ष पदमा जिम्मेवारी दिइएको बताइएको छ ।
मनोनयनप्रति धन्यवाद व्यक्त गर्दै सर्जक तथा कलाकार नौबागेले संस्थाको उद्देश्य अनुरूप पारदर्शिता, अनुशासन र सक्रियताका साथ आर्थिक व्यवस्थापन तथा संगठन सुदृढीकरणमा आफू समर्पित रहने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा विश्व हिन्दु युवा संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ऋषिकेशजंग शाहले नव–मनोनित कोषाध्यक्षलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । कार्यक्रममा संघका अध्यक्ष शिवन पोखरेलको पनि उपस्थिति रहेको थियो ।
संघले सांस्कृतिक जागरण, कलाकारहरुको संरक्षण, तथा विश्व शान्तिका लागि आध्यात्मिक–सांस्कृतिक अभियान सञ्चालन गर्दै आएको जनाएको छ। “जय शिव गोरक्ष, ॐ आदेश” मूल नारासहित अघि बढिरहेको संस्थाले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
प्रतिक्रिया